महालक्ष्मी नगरपालिका भित्रका उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय सम्मानित

ललितपुर, असोज २ गते । महालक्ष्मी नगरपालिकाले नगर क्षेत्रका उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरेको छ । राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा युनाइटेड एकेडेमी, इमाडोलमा मंगलबार एक विशेष समारोहमा नगरपालिकाले सम्ममान गरेको हो ।

नगरपालिकाले ‘समावेशी र सीपमुलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ शिक्षा दिवसमा विभिन्न कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नगरस्तरीय निबन्ध प्रतियोगिता, आधारभूत तहको निबन्ध वाचन, माध्यामिक तहको निबन्ध वाचन गरिएको थियो ।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठले विद्यालयहरुलाई सहकार्य शैक्षिक गुणस्तर वृद्धि गर्नतर्फ केन्द्रित हुन सबैलाई सुझाव दिनुभएको थियो । उहाँले भन्नुभयो, ‘साना र ठूला विद्यालयबीच सहकार्य हुने हो भने शैक्षिक गुणस्तर र पूर्वाधार विकासमा सहयोग हुन्छ ।’ उहाँले सहकार्यका लागि नगरपालिकाले सहजिकरण गर्ने बताउनुभयो ।

मेयर श्रेष्ठले नगरपालिकाले निजी विद्यालयको अनुगमलाई पनि तीब्रता दिने बताउनुभयो ।

त्यस्तै उपप्रमुख लक्ष्मी महर्जनले महालक्ष्मी नगरपालिकालाई शैक्षिक हब बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विद्यार्थी विदेशिने समस्या जटिल हुँदै गरेको बताउँदै नीतिगत सुधारमा जोड दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत रुद्रलाल भूसालले पनि महालक्ष्मी नगरपालिकालाई शैक्षिक हब बनाउने उद्देश्यमा सबैको सहकार्य रहने विश्वास व्यक्त गर्नुभयो ।

कार्याक्रममा आधारभूत तहबाट पहिलो भएका आयुष तिमल्सिना, दोस्रो स्तुति पौडेल, तेस्रो भएको छसाङ्मु शेर्पा र सान्त्वना वैभव रेग्मीलाई पुरस्कार प्रदान गरिएको थियो । उहाँहरुलाई क्रमशः ७ हजार, ५ हजार, ४ हजार र ३ हजार प्रदान गरिएको थियो ।

आधारभूत तहको निबन्ध वाचनमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना भएका क्रमशः मुस्कान कटुवा, केमन तामाङ, जसराज राई र सोनीकुमारी बान्ठालाई पुरस्कृत गरिएको छ ।

कार्यक्रममा नगरपालिकाले गएको वर्ष अवकास पाएका शिक्षकलाई दीर्घ सेवा सम्मान समेत गरिएको थियो । कार्यक्रममा कक्षा ८ को परीक्षामा उत्कृष्ट छात्रछात्राहरु नगद जनही १२ हजार सहित पुरस्कृत गरिएको थियो ।

नगरपालिकाले २०७९ सालको एसईई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई जनही नगद १५ हजारसहित पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाको शैक्षिक अभियानमा योगदान दिने संघ संस्था तथा व्यक्तिहरु ईसीईसी जावलाखेल, सीएसएन काठमाडौं, राइट्स टू स्टडी नेपाल काठमाडौं, कारखाना समूह र रामचन्द्र अधिकारीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा १ नं वडाका वडा अध्यक्ष छिरिङ लामा, २ का वडा अध्यक्ष धुब्र खत्री, वडा नं ५ का वडा अध्यक्ष कपिल केसी, वडा नं. ७ का वडा अध्यक्ष बाबुराजा महर्जन, नगर भित्रका सबै विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतका सहभागि हुनुभएको गियो । कार्यक्रममो सञ्चालन नगरपालिका शिक्षा शाखाका प्रमुख शिक्षा अधिकृत चिरञ्जीवी पौडेलले गर्नुभएको थियो ।