अमिर रामदाम : भरतपुर–२, चितवन, –
अध्यक्ष ज्यू,
नमस्कार !
कुसल हुनुहुन्छ भन्ने आशा, अपेक्षा र विश्वास लिएको छु । स–प्रेम आदरभाव व्यक्त गर्दै कुशलताको कामना समेत गर्दछु ।
आज आफूलाई एक जिम्मेवार सुनचाँदी बिट पत्रकार एवम् सचेत नागरिक महसुस गरि मनमा लागेका केही कुरा र विषयवस्तुमा प्रवेश गरि खुल्ला पत्र लेख्ने जमर्को गर्दैछु ।
‘कुरा खस्रा मिठा’ भने जस्तै, मैले यो खुल्ला पत्र लेख्दा केही अप्ठ्यारो महसुस हुनसक्छ तर, अन्तत ः केही फलदायी र प्रभावकारी नै हुन्छ होला भन्ने मनमा लागेको छ ।
मैले प्रायःजसो सुनेको कुरा साङ्गठनिक कार्य एक समाज सेवा हो । तपाईंले जीवनमा लामो समय साङ्गठनिक अनुभव बटुल्नु भएको छ । सङ्गठनमा दुःख, मेहनत, त्याग, तपस्या र संघर्ष चाहिँन्छ । त्यही योगदानको फलस्वरूप २०७७ साल पुष महिनामा सम्पन्न तेस्रो महाधिवेशनबाट सर्वसम्मत तपाईं नेपालभरका सुनचाँदी व्यवसायीहरूको छाता संगठन नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्ष जस्तो गरिमामय पदमा हुनुहुन्छ ।
महासंघका बारेमा मैले धेरै कुरा लेख्नु,भन्नु त्यति सान्दर्भिक र तात्पर्य नहोला । किनकि, मैले तपाईंलाई धेरै सम्झाइ बुझाइ राख्नुपर्छ जस्तो पनि लाग्दैन । मैले बुझाउन खोज्नु भनेको ‘इन्द्रका अगाडि स्वर्गको बयान’ जस्तै हो भन्ने लाग्छ ।
तरपनि, यो समाज र देशको एक जिम्मेवार सुनचाँदी बिट पत्रकार एवम् सचेत नागरिकका हैसियतले सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष व्यवसायीहरूप्रति जवाफदेही नहुनु, काम, कर्तव्यप्रति उदासिनता, आफ्ना कार्यशैली र व्यवहारप्रति गैर जिम्मेवार रहेकोे विभिन्न माध्यमबाट गुनासो र प्रतिक्रिया देखिन थालेपछि अध्यक्ष ज्यूलाई सचेत गराउन एक खुल्ला पत्र लेख्दैछु ।
अध्यक्ष ज्यु, हिजोका दिनमा व्यवसायीहरूले ठूलो आशा, अपेक्षा र भरोसा बोकेर, एक कुसल नेतृत्वदायी भूमिका बहन गर्न सक्ने क्षमता महसुस गरेर नेपालभरका सुनचाँदी व्यवसायीहरूले व्यवसायी हकहित र संरक्षणका निमित्त विशेष म्यान्डेट दिएर त्यो जिम्मेवारी तहमा पठाएका हुन् । त्यसैले त्यसको अवमूल्यांकन हुनु हुँदैन ।
२०८० चैत १८ गते महासंघको नवौं, दशौं र एघारौं साधारण सभा तथा चौंथो महाधिवेशन चैत २३ र २४ गते काठमाडौंमा आयोजना हुने भनेर महासंघमा आवद्ध प्रदेश समिति, जिल्ला तथा नगर संघलाई परिपत्र भएको थियो। सोहि अनुसार नेपालभरबाट महाधिवेशनमा सहभागी हुन प्रतिनिधि तथा पर्यवेक्षक आउने क्रम हुँदै थियो। चैत २२ गते दिउँसो एकाएक महाधिवेशन स्थगित भयो भन्ने हल्ला सार्वजनिक भयो । सामाजिक सञ्जालमा महाधिवेशन हुने की नहुने बीचमा जुहारी चल्यो । तर अन्ततः प्रशासन र अदालतको पत्रका कारण महाधिवेशन स्थगित नै भयो ।
महाधिवेशनमा सहभागी हुन आउनुभएका ति तमाम प्रतिनिधि तथा पर्यवेक्षकको खर्चको व्ययभार कसले व्यहोर्ने यस विषयमा स्पष्ट पारिदिनु होला। तीन वर्ष सम्म महासंघको साधारण सभा आयोजना गर्न कसले छेक्यो हजुरलाई? महाधिवेशन आयोजना हुने अघिल्लो दिन हजुर आफैले विभिन्न बहानामा किन स्थगन गराउनु भयो?
हजुरलाई व्यवसायीहरूको पीर कि कुर्चीको पीर ? महासंघमा नातावाद हावी गराउन किन विभिन्न प्रपोगाण्ड मच्चाउँदै हुनुहुन्छ? समयमैं साधारण सभा तथा महाधिवेशन गर्न सक्नुभएन नैतिकताको आधारमा कहिले राजीनामा दिने?
अध्यक्ष ज्यू, व्यवसायीहरुको विश्वास र भरोसा अझैं गुम्न नदिनुहोस् । नेतृत्वमा इमानदारीता पनि चाहिन्छ । समाजको विकास र व्यवसायीको हितमा काम गर्दै व्यवसायीप्रति उत्तरदायी हुनुपर्छ, जवाफदेही हुनुपर्छ ।
विविध कारणले धेरै कामहरु अध्यक्षले मात्रै गर्न सम्भव नहुन पनि सक्छ । काम गर्दै जाँदा आन्तरिक रूपमा तपाईंलाई साथ सहयोग नभएको पनि हुनसक्छ तर, अध्यक्षको हैसियतले सबै कामको निगरानी, समन्वय, अनुगमन, नियन्त्रण र निर्देशन दिने जिम्मेवार भूमिकामा त तपाईं हुनुहुन्छ नि ?
अध्यक्ष ज्यु, तपाईं व्यवसायीद्वारा सर्वसम्मत हुनुभएको हिसाबले राम्रोसंग जानकार हुनुहुन्छ, होला । जनता जनार्दन, जनता सर्वोच्च र जनता नै शक्तिशाली हुन्छ,भनेर । व्यवसायीहरूले कति विश्वास र भरोसा गरेर आफ्नो अमूल्य मत तथा मन तपाईंलाई प्रदान गरेका हुन् । महाधिवेशनको समयमा तपाईं जसरी प्रतिनिधि भेटघाट तथा छलफलमा जानुभयो र जुन कुरामा विश्वास दिलाएर व्यवसायीको अभिमत लिनुभयो । आज त्यो कुरा मानसपटलमा कतिसम्म राख्नुभएको छ ? या बिर्सनु भयो त्यो कुरा तपाईंलाई थाहा छ होला । महासंघ र व्यवसायीको सर्वोपरी हितलाई प्राथमिकतामा राखेर काम गर्नुहोस् । तपाईंको कार्यकालमा जनप्रिय, जनताप्रति उत्तरदायी काम त हुन सकेन, तय भएको साधारण सभा तथा महाधिवेशन पनि हुन सकेन् कमसेकम म व्यवसायीको हितको लागि केहि गर्न सकिन भनेर राजीनामा दिनुहोस्।
हवस्त, अहिलेलाई निरन्तर रूपमा चलिरहेको कलमलाई यहीँ रोक्न चाहान्छु । धन्यवाद !