
२० असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश, उपमेयर रीता देवी र प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कटहरिया नगरपालिका-२ जमुनिया बजारको सामुदायिक भवनमा टायल्स फ्लोरिङको काममा गरेको भन्दा धेरै काम देखाएर उपभोक्ता समितिलाई भुक्तानी दिएको आरोपमा अख्तियारले मेयर, उपमेयर, नगरपालिकाका कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीसहित ११ जनाविरुद्ध विशेष अदालतमा भष्टाचार मुद्दा दायर गरेको हो ।
आर्थिक वर्य २०७८/०७९ मा सामुदायिक भवनमा टायल्स फ्लोरिङको काम उपभोक्ता समिति मार्फत गराइएको थियो । त्यस क्रममा भुक्तानी सिफारिस भएको नापी किताबमा १ हजार १९४.४१ वर्गमिटरमा टायल्स फ्लोरिङ भएको उल्लेख भए पनि फिल्डमा ७२०.८१ वर्गमिटर मात्र फ्लोरिङ भएको पाइएको अख्तियारको भनाइ छ ।
काम भएको भन्दा ४७३.६० वर्गमिटर बढीमा फ्लोरिङ भएको देखाएर १२ लाख ५२ हजार ९४१ रुपैयाँ ९५ पैसा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । भ्रष्टाचार मुद्दा दायर भएसँगै मेयर अजयप्रकाश, उपमेयर रीता देवी, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, कार्यपालिका सदस्यहरु समिशबिक्रम साह र मनोजप्रसाद जैसवाल निलम्बनमा परेका छन् ।
अख्तियारले इन्जिनियर राजेशकुमार साह, योजना शाखा प्रमुख रामनरेश प्रसाद यादव, कार्यापलिका सदस्य समिशबिक्रम शाह र मनोज प्रसाद जैसवाल, इन्जिनियर मो.मकसुद आलम, बौद्धिमाई उपभोक्ता समिति अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिता कुमारी चौधरी र सचिव योगेन्द्र साहविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।