‘घरज्वाइँ’मा रोधिंको गलत चित्रण गरियो, तत्काल सम्पादन गर्नुपर्छद भन्दै गुरुङ समुदायको संस्था तमु धिं नेपालले फिल्म ‘घरज्वाइँ’मा चित्रण गरिएको रोधिं संस्कृतिसँग सम्बन्धित संवाद र दृश्यहरु रोधिंको कर्म र मर्म विपरीत भएको बताएको छ ।
विज्ञप्ति जारी गर्दै संस्थाले रोधिं गुरुङ समुदायको पवित्र सामाजिक र सांस्कृतिक संस्कृति भएकाले यसको गलत प्रयोग, प्रस्तुति र प्रचार नगर्न केन्द्रीय चलचित्र जाँच समिति र निर्माताको ध्यानाकर्षण गराएको छ ।
अध्यक्ष हुम गुरुङले भनेका छन्, ‘रोधिं गुरुङ समुदायको पवित्र एवं सामाजिक सामुदायिक संस्कृति भएको, सम्मानजनक र जिम्मेवार साथै सिक्ने सिकाउने, श्रम विभाजन गर्ने, सामुदायिक निर्णय गर्ने, दुःखसुख आदानप्रदान गर्ने, थिति निर्माण गर्ने सामाजिक धरोहरलाई कोही कसैले कुनै प्रसंगमा गलत प्रयोग, प्रस्तुति र प्रचार नगर्न अनुरोध गर्दछौं ।’
रोधिंलाई नकारात्मक वा भ्रामक रुपमा प्रचार गरिएकाले त्यसलाई सम्पादन गर्न समेत संस्थाले भनेको छ । रोधिंको सट्टा फिल्म छायांकन, कथा, विषयवस्तु केन्द्रित क्षेत्रकै शब्दावली प्रयोग गर्न सुझाव संस्थाले दिएको छ।
आगामी दिनमा संस्कृति, सभ्यता, मौलिकता, ऐतिहासिकतासँग सम्बन्धित फिल्मको प्रस्तुति गर्नुपूर्व सम्बन्धित समुदायसँग समन्वय गर्न गराउन समेत चलचित्र विकास बोर्ड र सेन्सर बोर्डलाई आग्रह गरेको छ ।
विविध कारणले लोप हुँदै गएको रोधिंको संरक्षण, सम्वर्द्धन र विकास गर्नु राज्यको दायित्व भएको संस्थाको भनाइ छ । अनिल बुढा मगर निर्देशित फिल्म ‘घरज्वाइँ’ अहिले हलमा प्रदर्शन भइरहेको छ र पूर्वी रुकुमको मगर बस्ती तकसेरामा छायांकन गरिएको हो ।