सुन्दरीजलमा युवतीको हत्या, दुई जना पक्राउ

गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा महिलाको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार पक्राउ पर्नेमा सर्लाहीका ४० वर्षीया रामविनय महरा र २४ वर्षीया सन्तोष राम महरा रहेका छन् ।

सुन्दरीजलस्थित ढुंगाको चेपभित्र शंकास्पद अवस्थामा बिहीबार महिलाको शव भेटिएको थियो । सिराहाकी राम दुलारी भएको भन्ने बुझिएको ती महिला मजदुरी गरेर गुजारा चलाउँदै आएकी हुन् भन्ने कुरा प्रहरीका अनुसार खुलेको छ । तर हालसम्म उनको परिवार तथा आफन्त सम्पर्कमा आएका छैनन् ।

सुरुमा नामसहितका विवरण नखुलेपनि प्राविधिक सूचनाहरुको विश्लेषण गरेर अनुसन्धान गर्दै जाँदा संलग्न व्यक्तिहरु शनिबार बसुन्धारा क्षेत्रबाट पक्राउ परेका हुन् ।

प्रारम्भिक जाँचका क्रममा हत्याको कारण प्रेम सम्बन्ध हुनसक्ने आशंका गरिएको छ भने थप अनुसन्धान भइरहेको अधिकारीले बताए ।