नागढुंगा मन्दिर नजिक पहिरो, पहिरो पन्छाए पनि राजमार्ग अवरुद्ध

काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगा (चेकपोस्टबाट करिब ३०० मिटर) तल नागढुंगा मन्दिर नजिक पहिरो गएको हो ।

काठमाडौं–मुग्लिङ सडक खण्डअन्तर्गत नागढुंगा सुरुङमार्गआसपासमा पहिरो आउँदा सडक अवरुद्ध भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनले भने, ‘पहिरो आउँदा सडक दुईतर्फी अवरुद्ध भएको छ, पहिरो पन्छाउने काम भएकाले बाटो सुचारु गर्न केही घण्टा लाग्न सक्छ ।’ सडक अवरुद्ध हुँदा यात्रुहरू बिचबाटोमै रोकिएका थिए ।

बिहान सम्म खसेको पहिरो पन्छाइए पनि सवारी आवागमन भने अझै सहज हुन सकेको छैन । हाल सो सडकखण्डमा दुवैतर्फ सवारी साधनहरुको लामो जाम छ । उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौंतर्फ वाणभञ्ज्याङसम्म सवारी साधनको लाइन छ ।

पहिरो पन्छाइसके पनि सुरुङमार्ग नजिकको स्याउले भन्ने स्थानमा एउटा ट्रक बिग्रिएकाले सवारी आवागमन सहज हुन नसकेको प्रहरीले जनाएको छ ।