चन्द्रागिरि नगरपालिकाले ‘बालश्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै धमाधम बालश्रममुक्त वडा घोषणा गरिरहेको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षभित्र आफ्ना सबै वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गर्ने लक्ष्य लिएको छ । बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने नारासहित हालसम्म चन्द्रागिरिका वडा नं ३ थानकोट, वडा नं ५ किसिपिडि, वडा नं ६ महादेवस्थान, वडा नं ७ चेकपोष्ट , वडा नं ८ मातातीर्थ, वडा नं ११ सतुंगल र वडा नं १४ नयाँ नैकापलाई ‘बालश्रममुक्त वडा’ घोषणा भइसकेका छन् ।
यसक्रममा ५ आश्विन २०८१, शनिबारका दिन चन्द्रागिरि –१० सतुंगललाई बालश्रममुक्त घोषणा गरियो । हालसम्म नगरका १५ वडा मध्ये विभिन्न आठ वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिएका छन् ।
नगरपालिकाले बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि २०७५ को लक्ष्य अनुसार बालश्रम निवारणको लागि बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ अवलम्बन गरेको छ । साथै नगरपालिकाले बालश्रम निवारणसम्बन्धी कार्ययोजना बनाई बालश्रम मुक्त नगर तथा बडा निर्माणका लागि विविध कार्यक्रम सञ्चालन गरिरहेको छ ।
बालबालिकासम्बन्धी बालमैत्री स्थानीय शासन कार्यविधि, २०६८ ले विभिन्न ३९ सूचक पूरा गरेको अवस्थामा बालश्रम घटेको हुनुपर्ने उल्लेख छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले शनिबार आयोजित कार्यक्रममा चन्द्रागिरि –१० लाई ‘बालश्रम मुक्त वडा घोषणा’ गर्दै बालश्रम निवारणका लागि नगरपालिकाले उच्च प्राथमिकता दिँदै आएको र घोषणा पछिको दिगोपनमा काम गर्नुपर्छ भने ।
बालमैत्री नगर घोषणाका लागि प्रारम्भिक चरणमा विभिन्न सूचक पूरा गरी वडालाई बालश्रम मुक्त बनाउँदै लगिएको उनले जानकारी दिए । उनका अनुसार आगामी २०८१ सालको चैतसम्ममा नगरका सबै वडा बालश्रम मुक्त वडा घोषणा भइसक्ने छन् ।
यस अगाडि बाजागाजा सहितको निस्केको र्याली घोषणासभामा परिणत भएको थियो । सो अवसरमा कार्यक्रममा सहभागीले ‘चन्द्रागिरि नगरपालिका , १० नं वडा, काठमाडौँलाई बालश्रम मुक्त घोषणा गरी हामी नगरपालिकाका जनप्रतिनिधि, विषयगत समिति, विद्यालय, बालक्लब, सञ्चारकर्मी, उद्योग व्यवसायी, सङ्घसंस्था तथा सरोकारवालाहरु बालश्रम मुक्त वडालाई नियमितता दिन र बालश्रम निवारण गर्न प्रतिवद्धछौ’भन्ने घोषणापत्रमा हस्ताक्षर समेत गरेका थिए ।