गोरखा दरबारमा तथा हनुमानढोकास्थित दशैँघरमा विधिपूर्वक जमरा राखियो

गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ । नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका र गोरखनाथ मन्दिरमा बिहान ९ः१६ बजेको साइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए ।

परम्पराअनुसार बिहान सबेरै गोरखकाली मन्दिरको कैलाश कोठाबाट देवी भगवतीलाई मूल दरबारको गर्भगृह (पूजाकोठा) मा पदस्थापना गराइ पानी घडा थापेर जमरा राखिएको उनले बताए ।

‘गोरखा दरबारको जमरा घरमा एक पाथी, कालिका मन्दिरमा र गोरखनाथ मन्दिरमा चार-चार मानाको दरले जौ को जमरा राखिएको छ’, उनले भने ‘उपल्लो कोट, तल्लो कोटहरूमा पनि एक-एक मानाका दरले जमरा राख्ने गरिन्छ, गोरखा दरबारका सबै ठाउँमा कुल तीन पाथीको जमरा राखिएको छ ।’

यहाँ जमरा राखेपछि मात्र देशभरका हिन्दु धर्मावलम्बीले घरघरमा जमरा राख्छन् भन्ने मान्यता रहँदै आएको छ । प्रतिपदा सुरु भएसँगै कालिका मन्दिरमा नियमित कालो बोकाको बलि दिने प्रचलन छ ।

साथै आज वसन्तपुरको हनुमानढोकास्थित दशैँघरमा पनि बिहान ९ बजेर १६ मिनेटको शुभसाइतमा विधिवत रुपमा जमरा राखिएको छ ।