चिनियाँहरुको महासंघ प्रतिनिधिमण्डलद्वारा भक्तपुर अवलोकन

भक्तपुर — प्रवासबाट फर्केका चिनियाँहरुको महासंघको प्रतिनिधिमण्डलद्वारा बिहीबार भक्तपुरको अवलोकन भ्रमण गरेका छन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महासंघका उपाध्यक्ष छङ स्युएयुआनको नेतृत्वमा आएको टोलीलाई भक्तपुरको दरबार क्षेत्रको प्रवेशद्धारमा स्वागत गरेका थिए ।  टोलीलाई पुष्पगुच्छा, भादगाउँले टोपी, खादा र परम्परागत थैलीले स्वागत गरिएको थियो ।

नगर प्रमुख प्रजापतिले चिनियाँ नेताहरुले भक्तपुरलाई प्राथमिकतामा राखेर भ्रमण गर्नु खुशीको कुरा भएको बताउँदै भक्तपुरले यहाँका कला संस्कृति संरक्षणलाई विशेष ध्यान दिइरहेको बताए ।
उनले भने — ‘नेपाली जनता र चिनियाँ जनताबीचको सम्बन्ध यस्ता भ्रमणहरुले थप मजबुत हुँदै जानेछ ।’
भ्रमणका क्रममा प्रवासबाट फर्केका चिनियाँहरुको महासंघका उपाध्यक्ष छङ स्युएयुआनले महासचीव सी चीनफीङले सभ्यता र साँस्कृतिकको आदान–प्रदान मार्फत देशहरुबीचको सम्बन्धलाई बलियो बनाउनुपर्ने बताउँदै भक्तपुर गहिरो साँस्कृतिक जग भएको कलात्मक शहर भएको बताए ।
उनले चीन–नेपालबीचको सम्बन्ध इतिहास जत्तिकै पुरानो छ भने ।


साँस्कृतिक आदान प्रदान मार्फत चीन र नेपालबीचको सम्बन्धलाई अझ अगाडि बढाउनुपर्ने धारणा राख्दै स्युएयुआनले भने – ‘भक्तपुरको सम्पदा संरक्षणको कामबाट हामी धेरै प्रभावित छौं ।’
प्रमुख प्रजापतिले उपाध्यक्ष स्युएयुआनलाई ‘मयुरको झ्याल’ र नगरपालिकाका प्रकाशनहरु उपहारको रुपमा प्रदान गरे ।
प्रतिनिधिमण्डलमा महासंघका चु ल्यउ, लीन सियाओफान, चाओ रूओछन्, वाङ सङ हुई र चिनियाँ दुतावासबाट काउन्सीलर छिन वनछ्, वाङ तोङ, नेपाल प्रावासी चिनियाँ संगठनका अध्यक्ष चीन सियाओतोङलगायतको उपस्थिति रहेको थियो ।


प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला संग्रहालय, स्वर्णद्धार, पचपन्न झ्याल दरबाबर, सिद्धिलक्ष्मी मन्दिर, सिलु महादेव मन्दिर र चर्तुब्रम्ह महाविहार अवलोकन गर्दै टौमढी क्षेत्रको पाँचतले मन्दिर, भैवनाथ मन्दिर, गःहिटीको लक्ष्मीनरसिंह मन्दिर हुँदै तालाक्व क्षेत्रमा मृत्तिका कलाको पनि अवलोकन गरेका थिए ।