सत्ता छाडेपछि झनै कम्फर्टेबल फिल गरेको छु : प्रचण्ड

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सत्ता छाडेपछि थप कम्फर्टेबल अनुभव गरिरहेको बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित ‘स्मृतिमा अखिल सर’ पुस्तक विमोचनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

‘कतिपयलाई फेरि प्रचण्डलाई सरकार छाडेको चिन्ता, पीडा भएको छ भन्छन्। त्यो चाहिँ होइन। विल्कुल होइन,’ पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘अहिले म प्रधानमन्त्री हुँदा भन्दा कम्फर्टेबल फिल गरेको छु। रिल्याक्स छु। जनताको बीचमा गएको छु ।’

उनले आफूहरूले वर्षौंसम्म लडेर ल्याएको संविधान र अहिलेको सिस्टममाथि नै घात हुने हो कि भन्ने चिन्ता आफूलाई रहेको पनि उल्लेख गरे।

‘चिन्ता हामीले त्यत्रो संघर्ष र बलिदानबाट ल्याएको संविधान र सिस्टममाथि घात हुन्छ कि भन्ने चिन्ता पक्कै पनि छ,’ प्रचण्डले भने, ‘जन्मदाताहरूलाई आफूले जन्माएको कुरामा त्यो फिल हुनु स्वभाविक हो। त्यो मलाई छ।’