एमालेको जागरण सभाको स्थान परिवर्तन, अब दरबारमार्गमा हुने

काठमाडौँ  — सत्तारुढ दल नेकपा एमालेले मंसिर ७ गते गर्ने जागरण सभाको स्थान परिवर्तन भएको छ । यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको उक्त सभा अब दरबारमार्गमा आयोजना हुनेछ ।

सो सभाअघि र्‍याली हुने छ । भद्रकालीबाट सुरु हुने र्‍याली सुन्धारा, वीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुने छ । सभालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने छन् ।

यो सभालाई एमालेको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ । मंगलबार बसेको एमालेको बैठकले सभालाई ऐतिहासिक रुपमा सफल बनाउने निर्णय गरेको थियो ।

एमालेले सो सभामा कम्तीमा एक लाख कार्यकर्ता सडकमा उतार्ने योजना बनाएको छ । एमालेले बागमती प्रदेशका सबै जिल्लाबाट कार्यकर्ता, समर्थकलाई काठमाडौँ उतार्नेछ।

एमालेमा २३ वटा जनसंगठन छ। यसलाई परिचालन गर्न बनाइएको जनसमन्वय संयन्त्रलाई मानिस ल्याउने जिम्मा दिइएको एमालेले जनाएको छ ।

अखिल, युवा संघ र अनेमसंघले पाँच–पाँच हजार मानिस ल्याउने जिम्मा लिएका छन्। अन्य संघसंगठनले कम्तीमा हजार जना ल्याउने बताएका छन्। जिल्ला–जिल्लाले सोही अनुसार उतार्नेछन्।

यसअघि सत्तामा हुँदा पनि ओलीले काठमाडौँमै प्रदर्शन राखेका थिए। पार्टी कमजोर भएको प्रचार हुन थालेपछि उनले यस्ता कार्यक्रम गर्न निर्देशन दिने गरेका छन्। जुन कार्यक्रममा आफैँ पुगेर सम्बोधन गर्छन् र कार्यकर्ताको मनोबल बढाउने कोसिस गर्छन्।

२०७७ माघ २३ गते तत्कालीन नेकपामा अल्पमतमा परेपछि ओलीले नारायणहिटी अगाडि प्रदर्शन सभा गरेका थिए।