मिक्लाजुङ गाउँपालिका र जापानको स्पेसटाउनबिच भगिनी सम्बन्ध

काठमाडौँ — मोरङको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबिकुमार राईले जापानका प्रभावशाली सांसद कुबोटा तेत्सुयासँग महत्त्वपूर्ण भेटवार्ता गरेका छन्।

स्पेसटाउनका मेयर हिरोसी कोजोनोको निमन्त्रणामा जापान भ्रमणमा रहेका अध्यक्ष राईले दुई पालिकाबिच भगिनी सम्बन्ध स्थापना र यसको दीर्घकालीन प्रभावकारिता सुनिश्चित गर्न विभिन्न विषयमा छलफल गरेका हुन्।

भेटमा अध्यक्ष राईले मिक्लाजुङको शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार क्षेत्रको विकासमा जापानको सहयोग आवश्यक रहेको बताए। उनले सांसद कुबोटासँग यी क्षेत्रका परियोजनाहरूमा सहकार्य र स्रोतसाधन परिचालनका लागि आग्रह गर्दै द्विपक्षीय सम्बन्धलाई थप सबल बनाउने प्रतिबद्धता व्यक्त गरे।

अध्यक्ष राईको यो पहलले मिक्लाजुङ र स्पेसटाउनबिचको सम्बन्धलाई मात्र नभई समग्र पालिकाको विकास प्रयासलाई पनि गति दिने विश्वास गरिएको छ।

कार्यक्रममा मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य डा. सुनील शर्मा, नेपाली कांग्रेसका नेता चिरञ्जीवी थापा र व्यवसायी जीवन खड्कालगायतको उपस्थिति रहेको थियो। यो भेटवार्ताले मिक्लाजुङ गाउँपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र विकासमा नयाँ अध्याय प्रारम्भ हुने अपेक्षा गरिएको छ।