काठमाडौँ — स्थानीय तहको उपनिर्वाचन नजिकिएसँगै कीर्तिपुर नगरपालिकामा प्रचार–प्रसार तीव्र रुपमा अघि बढेको छ।
राजनीतिक पार्टीसम्बद्ध उम्मेदवारहरू पार्टीको झण्डा र ब्यानरसहित जनताको घरदैलो पुगी आफ्नो पक्षमा मत माग्न व्यस्त देखिन्छन्।
यसैगरी, स्वतन्त्र उम्मेदवारहरू पनि राजनीतिक पार्टीहरू असफल भएको भन्दै विकल्पका रूपमा साथ दिन जनतासँग अनुरोध गर्दै दौडधुप गरिहेका भेटिन्छन्।
कीर्तिपुर नगरपालिकामा प्रमुख र दुईवटा वडाअध्यक्षका लागि चुनाव हुन लागेकाले अन्य विषयवस्तु ओझेल पर्नेगरी चुनावी सभा र घरदैलो अभियानले यतिबेला कीर्तिपुरको राजनीतिक माहोल तातिएको अवस्था छ।
यही मङ्सिर १६ गते हुन गइरहेको उपनिर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुखमा राजनीतिक दलका आठ र स्वतन्त्र १२ गरी २० जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका कृष्णमान डङ्गोल हाल घरदैलो अभियानमा व्यस्त छन्। उनले कीर्तिपुरको विकास र सम्पदा संरक्षण आफ्नो मुख्य मुद्दा भएको बताए।
‘कीर्तिपुरका सम्पदा संरक्षण गर्दै विकास कार्य अघि बढाउँछु, यसो गर्दा कीर्तिपुरलाई सांस्कृतिक सहरमा परिणत गर्न सकिन्छ भन्ने विश्वास छ,’ उनले भने। आर्थिक अभावका कारण कोही पनि बालबालिकालाई विद्यालय जानबाट वञ्चित हुन नदिने र विद्यालयमा प्राविधिक शिक्षा अघि बढाउने आफूसँग स्पष्ट योजना रहेको उनले बताए।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नगरप्रमुखका उम्मेदवार डा. सुरेन्द्र मानन्धर आमजनतासँग जोडिएको विकास निर्माणसँग सम्बन्धित प्रक्रिया अघि बढाउँदा स्थानीय जनताको भावना र विषयविज्ञका रायसुझावसहित जनता केन्द्रित कार्यक्रमले प्राथमिकता पाउनुपर्छ भन्ने पक्षमा आफू रहेको स्पष्ट गरे। ‘कीर्तिपुरलाई कीर्तिपुरकै सांस्कृतिक र प्राकृतिक सम्पदाहरुले पाल्न सक्छन् भन्ने विश्वास छ। ती सम्पदाको विकास र प्रयोग गर्दै ‘एआई’सँग रमाइरहेका अहिलेको ‘स्मार्ट’पुस्ता सुहाउँदो कीर्तिपुर बनाउने मेरा योजना छ,’ उनले भने।
कीर्तिपुरको सबैभन्दा ठूलो समस्या अव्यवस्थित र खाल्डाखुल्डीयुक्त सडक भएको बताउँदै डा. मानन्धरले त्यसलाई सडक बोर्ड बनाएर स्थायी समाधान गर्ने अवधारणा आफूसँग रहेको बताए।
नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रमुखमा उम्मेदवारी दिएका प्राध्यापक डा. शिवशरण महर्जन कीर्तिपुरमा समृद्धि ल्याउनु नै आफ्नो मुख्य ‘एजेन्डा’ रहेको बताउँछन्। उनले नगरपालिकाका कामकाजमा सुशासन कायम गर्ने, पुस्तकालय एवं सङ्ग्रहालय स्थापनासहित विकास निर्माणलाई जोड दिने तथा त्रिभुवन विश्वविद्यालयसँग नगरपालिकाको समन्वय गराउने पक्षमा आफ्नो उम्मेदवारी रहेको बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका इन्जिनियर ध्रुव महर्जन नगरपालिकामा सुशासन, खानेपानीको उचित व्यवस्थापन र सार्वजनिक विद्यालयमा प्राविधिक शिक्षाको व्यवस्था आफ्नो मुख्य चुनावी एजेण्डा रहेको बताउँछन्।
नेपाल मजदुर किसान पार्टीले श्रीकृष्ण महर्जनलाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले कीर्तिपुर नगरपालिकामा उम्मेदवारी दिएको छैन।
यसैगरी नगरप्रमुख पदमा उम्मेदवारी दिने स्वतन्त्र उम्मेदवारहरुले पनि चुनावी प्रचार–प्रसार अघि बढाएका छन्।
उनीहरूले विकास निर्माण, सुशासन, सांस्कृतिक सम्पदाको संरक्षण गर्न यसअघि राजनीतिक पार्टीबाट निर्वाचित मेयरहरू असफल भएको भन्दै यसपटको निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई साथ दिन कीर्तिपुरवासीसँग आग्रह गरेका छन्।