काठमाडौँ —प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको गृहकार्य गर्न परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा छेन्दु जाँदै छिन्। प्रधानमन्त्री ओलीको मंसिर १७ गतेदेखि हुने भ्रमण तयारीर चीनका विदेशमन्त्री वाङ यीसँग छलफल गर्न परराष्ट्रमन्त्री राणा छेन्दु शहरमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सीपीसी केन्द्रीय कमिटीका राजनैतिक ब्यूरो, केन्द्रीय आयोगको कार्यालय निर्देशकसमेत रहेका जनवादी गणतन्त्र चीनको विदेश मामिला मन्त्री वाङ यीसँग उनको शुक्रबार भेटवार्ता गर्ने कार्यतालिका छ।छेन्दुमा राणा र वाङ बीच यस अगाडि भएका सम्झौता र कार्यान्वयनको अवस्था, दुई देशको द्विपक्षीय हित, प्रधानमन्त्रीको भ्रमणमा हुने सम्झौता र बृहत् रुपमा समान चासो, बीआरआईको विषयमा कुराकानी हुने छ।
मन्त्री राणाले मंसिर १३ देखि १५ गतेसम्म चीनको भ्रमण गर्नेछिन्। यस अगाडि स्वास्थ्य उपचार गराएर जापानबाट बेइजिङ जाने तयारी गरे पनि डाक्टरको समय नमिलेपछि परराष्ट्रमन्त्री राणाले जापान भ्रमण स्थगित गरेकी थिइन्।
बीआरआई कार्यान्वयनको पक्षमा कांग्रेस र एमाले
बीआरआई ऋण कि अनुदानमा लिने विषयमा विवाद भइरहेको छ। प्रधानमन्त्री ओलीले सहुलियतपूर्ण ऋणमै भए पनि बीआरआई कार्यान्वयन गर्न मनस्थिति बनाएका छन्। बीआरआईअन्तर्गत अनुदान लिने विषयमा एकमत भएपनि ऋणको विषयमा पनि कांग्रेसले फरक मत राखिरहेको छ। यद्यपी सत्तारूढ दलहरू चिनियाँ परियोजना ‘बेल्ट एण्ड रोड इनिसीएटीभ (बीआरआई) कार्यान्वयनको पक्षमा रहेका छन्।
बुधबार विराटनगर विमानस्थलमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बीआरआईका सन्दर्भमा सत्तारूढ कांग्रेस र एमालेको धारणा समान रहेको बताएका थिए। सबै मित्र राष्ट्रसँग मित्रवत् सम्बन्ध स्थापित गर्न चाहेको भन्दै थापाले बीआरआई सम्झौता नेपालमा लागू गर्ने कुरा कांग्रेसका लागि नयाँ र नौलो नभएको जानकारी गराए। अमेरिका, भारत, चीन, जापान जुनसुकै राष्ट्रहरूबाट पनि सस्तोमा ऋण लिन कांग्रेस र एमाले तयार रहेको उनको भनाइ छ।
‘सन् २०१७ मा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को सरकार रहँदा तत्कालीन परराष्ट्रमन्त्री प्रकाशशरण महतले बीआरआई सम्झौता गर्नुभएको हो,’ उनी भन्छन्, ‘त्यसअघि चीनसँग भएका दर्जनौं सम्झौताहरू कार्यान्वयन नभएकाले ती सबै सम्झौताहरूले पूर्णता पाओस् भन्ने अपेक्षा पनि छ।’ चीनसँग भएका दर्जनौं समझदारीहरूमा हस्ताक्षर र कार्यान्वयनको अपेक्षा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणबाट राखिएको उनले बताए।
एमालेका उपमहासचिवसमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा चीनले अनुदान दिएमा स्वीकार्ने र सम्झौता हुन सक्ने बताएका छ। मंगलबार काभ्रेमा उनले भने, ‘हामी जुनसुकै मुलुकबाट ऋण लिइहाल्दैनौँ, अनुदान भने लिन्छौँ, चीनले अनुदान दिएमा त्यो स्वीकार गर्छौं, त्यसमा सम्झौता हुनसक्छ।’ उनले नेपालले बीआरआईको विषयमा चीनसँग एमओयू गरेकाले कार्यान्वयन गर्नुपर्ने पक्षमा रहेको बताएका थिए। उनले प्रधानमन्त्रीको भ्रमण गुडविल हुने धारणा राखेका छन्।
बीआरआईको विषय धेरै गिजोलिएको बताउँदै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जुनसुकै मुद्दामा शक्ति राष्ट्रहरूसँग परिपक्क ढंगले अगाडि बढाउनुपर्ने बताए। ज्ञवालीले भने, ‘बीआरआई चीनले अगाडि सारेको विकासको एउटा अवधारणा हो। त्यसलाई हामीले कसरी अधिकतम सदुपयोग गर्न सक्छौं भनेर जाँदाभन्दा पनि हाम्रो बहसचाहिँ ऋण भर्सेस अनुदान जस्तो भएको छ। त्योभन्दा बाहिर ल्याएर हामीले छलफल गर्नुपर्छ।’