चार दिने भ्रमण सकाएर प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

काठमाडौँ —  चारदिने चीन भ्रमणमा सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदै छन्। चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली दिउँसो काठमाडौँ आइपुग्ने छन्।

बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरे। त्यस अवसरमा नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली र चिनिया समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका छन्। दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल र चीनबीच भएको टोखा(छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर, नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर, भैँसीको मासु चीन निर्यातसम्बन्धी विभिन्न समझदारी भएको छ।

भ्रमणमा नेपाल र चीनबीच बिआरआई फ्रेमवर्कसहित विभिन्न महत्वपूर्ण सम्झौता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

चार दिने भ्रमण सकाएर स्वदेश फर्कन लागेको प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। यसबारे चिनिया प्रधानमन्त्रीबाट सकारात्मक बचन प्राप्त भएको जनाइएको छ।

ओली चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ गएका थिए।