चितवन राइनोजले कर्णाली याक्सलाई १३१ रनको लक्ष्य

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार दिनको पहिलो खेलमा टस जितेको कर्णालीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चितवनले ७ विकेटको क्षतिमा १३० रन जोड्यो।

चितवनका लागि रवी बोपाराले अर्धशतक प्रहार गरे। उनले नटआउट ५९ रन जोड्ने क्रममा ४० बल खेलेर ७ चौका र १ छक्का प्रहार गरे।

बोपारा र कप्तान कुशल मल्लले चौथो विकेटका लागि ६० रनको साझेदारी गरेका थिए। कुशलले २७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २३ रन जोड्न सके।

त्यसअघि चितवनले पावरप्लेमा आफ्नो तीन विकेट गुमाएको थियो। ओपनर लुक बेन्केस्टाइनलाई पहिलो ओभरको पाँचौ बलमा कर्णालीका कप्तान सोमपाल कामीले शून्यमा बोल्ड गरे।

अर्का ओपनर दीपक बोहरा चौथो ओभरमा नन्दन यादवको बलमा देव खनालबाट ८ रनमै क्याच भए। पावरप्लेको अन्तिम ओभरमा विपिन रावल ११ रनमा जिशन मक्सुदबाट बोल्ड भए।

१७औं ओभरमा विपिन शर्माको एलबिडब्लूको धरापमा पर्नुअघि लोफ्टी इटनले ९ रन जोडे। दुई बलपछि विपिनले सोहेल तन्विरलाई शून्यमा बोल्ड गरेका थिए। विपिनले अमरसिंह रटेउलालाई पनि १९औं ओभरमा ९ रनमा बोल्ड गरेका थिए। शरद भेषावकर ६ रनमा नटआउट रहे।

बलिङमा कर्णालीका विपिन शर्माले तीन विकेट लिए। उनले चार ओभरमा २१ रन खर्चिए। जिशन मक्सुदले दुई विकेट लिन सफल भए। उनले  चार ओभरमा २२ रन दिए। कप्तान सोमपाल कामी र नन्दन यादवले १-१ विकेट लिए।

प्रतियोगितामा चितवनले यसअघिका दुवै खेल जित्दा कर्णाली दुवै खेलमा पराजित भएको छ।