काठमाडौँ — गृहमन्त्री रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिको अनुसन्धानलाई प्रभावित पार्ने गरी बोल्नु ठिक नभएको प्रतिक्रिया दिएकाका छन्।
प्रदेशस्तरीय सुरक्षा परिषद्को बैठकमा सहभागी हुन गृहमन्त्री लेखक सुर्खेत आएका हुन्। सुर्खेतको वीरेन्द्रनगरमा मंगलबार पत्रकारसँग कुरा गर्दै मन्त्री लेखकले अनुसन्धानमा प्रभाव पार्ने गरी काम भइरहेको बताए।
‘कसैले पनि अनुसन्धानलाई प्रभावित गर्ने, अदालतलाई प्रभावित गर्ने, न्यायिक प्रक्रियालाई प्रभावित पर्ने ढंगले बोलेको कुरा बेठिक हो। यसमा प्रमुख प्रतिपक्षी दलको नेताले नै यस्तो काम गर्नु झनै दुर्भाग्यपूर्ण हो,’ गृहमन्त्री लेखकले भने।
गृहमन्त्री लेखकले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रको समर्थनमा रास्वपाका समर्थकले पनि अनुसन्धानमा प्रभाव पार्न विभिन्न गतिविधि गरिरहेको बताए। अनुसन्धानकाक्रममा प्रहरी, वकिल कार्यालय र अदालत घेरा हाल्ने, सडकमा आएर विधिको शासनलाई उल्लंघन गर्ने काम भइरहेको भनाई लेखकको थियो।
‘जसको पैसा ठगिएको छ उसको चिन्ता छैन । जो माथि अनुुसाधनको काम भइरहेको छ। त्यसलाई पनि प्रभावित पार्न खोज्ने काम कसैले पनि नगरौँ,’ गृहमन्त्री लेखकले भने।
उनले सरकारले संविधानको रक्षा र कार्यान्वयन गर्ने, दिगो शान्ति र समृद्धि ल्याउने प्रमुख विषयमा काम गरिरहेकाले पनि बताए। सरकारलाई स्थायित्व दिएर संविधानले गरेका व्यवस्थालाई सुदृढ गर्दै जाने लक्ष रहेको बताउँदै संविधान विरोधी गतिविधि निस्तेज गर्ने कुरामा सबै लाग्नुपर्ने उनको भनाई थियो।
यस्तै, गृहमन्त्री लेखकले सरकार ढल्छ भन्ने हल्ला फैल्याएर सरकारलाई नै अस्थिर बनाउने खेल भएको पनि बताए।
‘सरकार ढल्छ भन्ने हल्ला फैल्याएर सरकारलाई नै अस्थिर बनाउने षड्यन्त्र भइरहेको छ,’ गृहमन्त्री लेखकले भने, ‘सरकार ढल्छ भन्ने हल्लामा कुनै आधार छैन, सरकारमा भएका दलहरूबिच सौहार्दपूर्ण सम्बन्ध छ । प्रधानमन्त्रीले नै सम्झौता अनुसार अगाडि बढ्ने भनिरहनु भएको छ । त्यसरी नै अगाडि बढ्छौँ।’