तानसेन — तानसेनको टुडिखेलमा सञ्चालन भएको पालिकास्तरीय डाउनटाउन नकआउट क्रिकेट प्रतियोगिताको उपाधि तानसेन नगरपालिकाको क्रिकेट क्लवले हात पारेको छ।
शनिबार तानसेनमा भएको फाइनलखेलमा तानसेनले रैनादेवी छहरालाई ४९ रनले पछि पार्दै पालिकास्तरीय क्रिकेटको उपाधि जितेको हो। तानसेनले क्रिकेट क्लवले २० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय ३९ रन जोडेको थियो।
तानसेनका लागि विशाल दर्नालले ४०, रुपेश बस्यालले ३५, श्रीधर बस्यालले १५ र तेजेन्द्र बीरजंग राणलो १२ रन जोडेका थिए। वलिङतर्फ रैनादेवी छहराका मदन नेपालीले ४, अमीत तिवारीले २ विकेट लिए।
१ सय ४० रनको लक्ष्यका साथ मैदानमा उत्रिएको रैनादेवी छहराले २० ओभरमा ८ विकेट गुमाएर ९० रनमात्र बनायो। रैनादेवीका लागि लक्ष्मण सार्कीले अविजित २९, मिलन केसीले १६, भक्त कार्कीले अविजित ४ रन जोडे।
बलिङतर्फ तानसेनका श्रीधर बस्यालले ३, सागर सिलवाल र शुभम भुसालले समान २÷२ विकेट लिए। विजयी तानसेनलाई ५० हजार र उपविजयी रैनादेवी छहरालाई २५ हजार नगद पुरस्कार, मेडल, प्रमाणपत्र र ट्रफी पुरस्कार पाए।
प्रतियोगितामा उत्कृष्ट बलर रैनादेवी छहराका अमित तिवारी, उत्कृष्ट ब्याट्सम्यान तथा म्यान अफ दि सिरिज तानसेनका विशाल दर्नाल र बेष्ट क्याच तानसेनकै विपिन भट्टराई भए। प्रतियोगितामा जिल्लाका ९ पालिकाको सहभागिता रहेको थियो।