काठमाडौँ — उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास लक्ष्य प्राप्तिका लागि तयार पारिएका कार्ययोजना कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको गरेको बताएका छन्।
अल्पविकसित र विकासोन्मुख देशहरूमा वित्तीय अन्तर विकास गतिको निरन्तरताका लागि महत्त्वपूर्ण मुद्दा भएको धारणा व्यक्त गर्दै अर्थमन्त्री पौडेलले बजेट योजना, स्रोत विनियोजनमा कुशलता, प्रभावकारी परियोजना कार्यान्वयन क्षमता विकास र दिगो खर्च व्यवस्थापन बढ्दो चुनौतीका रूपमा रहेको बताए ।
अधिकांश अल्पविकसित र विकासोन्मुख देशहरूले राजस्व परिचालन क्षमतामा सुधार गर्न संघर्ष गरिरहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले डिजिटल आर्थिक कारोबारका नयाँ मोडालिटीहरूलाई करको दायरामा ल्याउने गरी कर प्रशासनको क्षमतालाई सुदृढ र प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गरे ।
अर्थमन्त्री पौडेलले हाल विश्व्यापी रूपमा देखापरेका आर्थिक तथा सामाजिक अनिश्चितता, भूराजनीतिक समस्या, सार्वजनिक ऋणको बढ्दो भार र आर्थिक असमानतालाई सामूहिक प्रयासबाट समाधान गर्नुपर्ने बताए ।
कम विकसित र विकासोन्मुख देशहरूका लागि सार्वजनिक ऋण व्यवस्थापन अर्को महत्वपूर्ण मुद्दाका रूपमा रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले आगामी दिनमा उत्पादनशील एवम् प्रतिफलयुक्त क्षेत्रमा मात्रै सार्वजनिक ऋण उपयोग गर्नुपर्ने धारणा पनि व्यक्त गरे।