काठमाडौँ — नेपाल प्रिमियर लिगमा आजबाट प्लेअफका खेल सुरु हुँदैछन्। बुधबार कीर्तिपुरस्थित टियू मैदानमा पहिलो क्वालिफायरमा लिगका शीर्ष दुई टिम सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भीड्ने छन्।
यो खेल बुधबार दिउँसो १ बजे सुरु हुनेछ। सुदूरपश्चिम लिगमा शीर्ष स्थानमा रहँदै क्वालिफायरमा पुगेको हो भने जनकपुरले लिग दास्रो स्थानमा सकाएको थियो।
दीपेन्द्रसिंह ऐरीले कप्तानी गरिरहेको सुदूरपश्चिम जारी एनपिएलकै सबैभन्दा लयमा रहेको टिम हो। यता, जनकपुर भने सन्तुलित टिमका रुपमा देखिएको छ। लिगमा जनकपुरको कप्तानी अनिल साहले गरेका थिए भने सम्वतः प्लेअफमा टिमको कप्तानी आसिफ सेखले गर्नेछन्।
बुधबार जनकपुर लिगमा प्राप्त नमीठो हारको बदला लिने उद्देश्यसहित मैदान उत्रने छ भने सुदूरपश्चिम सोच आफ्नो लयलाई कायम राख्दै फाइलन पुग्ने हुनेछ। लिग चरणमा सुदूरपश्चिमले जनकपुरमाथि फराकिलो जित निकालेको थियो।
ब्याटिङको ब्याटल
लिग पहिलो र दोस्रो स्थानमा सकाएका सुदूरपश्चिम र जनकपुर दुवैको ब्याटिङ प्रतियोगितामा अब्बल देखिएको छ। केही खेलबाहेक दुवै टिमले राम्रो ब्याटिङ गरेका छन्।
दुवै टिमसँग उत्कृष्ट ओपनर र बलियो मिडल अर्डर छ। सुदूरको इनिङको सुरुआत सैफ जइब र विनोद भण्डारीले गर्ने गर्नेछन्। दुवै ओपनर फर्ममा रहेकाले सुदूरलाई यी दुईले राम्रो सुरुआत दिलाउन सक्नेछन्। त्यसपछि आउने छन्, ब्रान्डन म्याकमलेन, हर्मित सिंह, दीपेन्द्रसिंह ऐरी, आरिफ सेख, इशान पाण्डे।
अलराउन्डरले भरिएको सूदरपश्चिमको बलियो पक्ष १० नम्बरसम्म पनि ब्याटिङ लाइनअप हुनु हो। उसका आठौं नम्बरमा स्कट कुगेलेइन र नवौं नम्बरमा विशुद्ध ब्याट्सम्यान नरेश बुढाएर आउँछन्। त्यसपछि यू१९ टिमका अलराउन्डर नरेन साउद आउँछन्। लिगको अन्तिम खेलमा चोट बोकेका नरेन क्वालिफायर खेल्ने नखेल्ने टुंगो लागेको छैन्। उसका विशुद्ध बलरका रुपमा अविनाश बोहरा मात्र छन्।
यता, जनकपुरको भने टप र मिडल अर्डर निकै बलियो देखिएको छ। उसको टप अर्डरले प्रतियोगिता उत्कृष्ट ब्याटिङ गरिरहेको छ। तर, बुधबार जनकपुरलाई टप अर्डरमा कप्तान अनिल साहको अभाव भने खड्किने छ। लिगको अन्तिम खेलमा ब्याटिङ गरेर मैदान बारिने क्रममा उनको औंलामा चोट लागेका कारण उनले सुदूरपश्चिम विरुद्धको खेल गुमाउने छन्।
आसिफ सेखले पहिलो पटक ओपनिङमा नयाँ जोडी पाउनेछन्। सम्भतः ती यू १९ टिमका ओपनर आकाश त्रिपाठी हुनेछन्। उनले भर्खरै सम्पन्न यू १९ एसिया कप र त्यसअघि भएको सिरिजमा राम्रो ब्याटिङ गरेका थिए। तेस्रो नम्बरमा हुनेछन्, इनफर्म ब्याट्सम्यान लहिरु मिलन्था। मिलन्थाबाट जनकपुरले सबैभन्दा धेरै आशा गरेको छ। पछिल्ला केही खेलमा उनको ब्याटबाट रन नआएकाले भने जनकपुर केही चिन्तित छ।
त्यसपछि ब्याटिङमा आउनेछन्, हर्ष थाकर, जिमी निशम, मोहम्मद मोहसिन खान। यी तीन खेलाडीले उसको मिडल अर्डर धान्ने छन्। सुदूरपश्चिमको तुलनामा जनकपुरको लोअर मिडलअर्डर कमजोर र कम अनुभवी छ। त्यो पनि जनकपुरका लागि चिन्ताको विषय हुनसक्छ।
यदि जनकपुरले सुदूरपश्चिमलाई ब्याटिङमा बलियो चुनौती दिने भने उसका आसिफ, लहिरु, निशम मध्ये एक इनिङको अन्त्यसम्म एक इन्डमा रहनुपर्ने हुन्छ। सुदूरपश्चिमलाई भने त्यो चिन्ता हुनेछैन।
स्पिन भर्सेस पेस
जारी प्रतियोगितामा जनकपुरको स्पिनमा निकै राम्रो र घातक देखिएको छ। उसले सुरुआतमै ललित राजवंशीलाई ल्याउने छ भने मध्यतिर शेर मल्ल, हर्ष र मोहसिनले सम्हानेछन्। कन्डिसन अनुसार हर्षले पावरप्ले पनि बलिङ गर्छन्।
यी चार स्पिनरले प्रतियोगितामा कुल ३६ विकेट लिएका छन्। जसमा ललित १३ सर्वाधिक, हर्ष १०, मोहसिन ७ र शेर मल्ल ६ विकेट लिएका छन्। यी सबैका इकोनोमी पनि राम्रो छ।
जनकपुरको तुलनामा सुदूरपश्चिमको स्पिन अट्याक केही कमाजोर छ। उसको स्पिनरमा दीपन्द्रसँगै हर्मित र जइब छन्। यी तीनले कुल २२ विकेट लिएका छन्। जसमा जइबले ९, हर्मितले ८ र दीपेन्द्रले ५ विकेट लिएका छन्। उनीहरुलाई स्पिनमा ६ विकेट लिएका नरेन र ३ विकेट लिए इशान पाण्डे पनि सघाउने छन्। नरेन खेल्ने नखेल्ने भन्ने टुंगो भने लागेको छैन।
यता, सुदूरपश्चिमको पेश अट्याक भने निकै बलियो छ। उसको पेश अट्याकको नेतृत्व कुगेलेइनले गर्ने छन्। उनले लिगका ७ खेलमा कुल १५ विकेट लिएका छन्। अनुवभी बलर कुगेलेइन टियू मैदनमा घातक देखिएका छन्। यस्तै, म्याकमलेन र अविनाले पनि लुगेलेइनलाई राम्रो साथ दिनेछन्। दुवैले समान ६ विकेट लिएका छन्।
पेश अट्याकमा भने जनकपुर केही कमजोर छ। ऊसँग फास्ट बलरका रुपमा किशोर महतो र जिमी निशमले मात्र छन्। प्रतियोगितामा किशोरले १० र निशमले ८ विकेट लिएका छन्। कन्डिसन अनुसार उसले तेस्रो फास्ट बलरका रुपमा यू १९ टिमका कप्तान हेमन्त धामीलाई पनि खेलाउन सक्छ।
प्रतिद्वन्द्वी बन्दै सेख दाजुभाइ
नेपाली राष्ट्रिय टिमका टिममेट दाजुभाइ आरिफ र आसिफ सेख एनपिएलमा भने प्रतिद्वन्द्वीका रुमपा छन्। दाजु आरिफ सुदूरपश्चिममा छन् भने भाइ आसिफ जनकपुरमा छन्। भोलि क्रिकेटप्रेमीको नजर दाजुभाइको प्रतिद्वन्द्वीतामा पनि हुनेछ।
बुधबार कीर्तिपुर मैदानम सुदूरपश्चिम र जनकपुर भीड्न यी सेख दाजुभाइ पनि आमने सामने हुनेछन्। यही प्रतियोगितामा आरिफ र आसिफ आपसमा भीड्न लागेका छन्। लिगमा आरिफको टिम आसिफको टिममा पूर्ण रुपमा हावी भएको थियो।
एनपिएलको फाइनल पहिला दाजु पुग्लान् या भाइ ? त्यो बुधबारको खेलपछि थाहा हुनेछ। सम्भावना यस्तो पनि छ, दाजुभाइबीच तेस्रो पटक पनि भीडन्त हुनसक्छ। क्वालिफार १ मा हार्ने टिमले क्वालिफायर २ जितेमा छ। के त्यस्तो होला ?