कर्णालीले दियो चितवनलाई १७६ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिलए) काे आजको पहिलो इलिमिनेटरमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रनको योगफल तयार गर्‍याे।

कर्णालीका लागि कोल्सावालाले सर्वाधिक ५३ रन जोडे। उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे।

एनपिएल डेब्यु खेल खेलिरहेका कोल्सावालाले ३६ बलमा अर्धशतक पूरा गरेका थिए। अर्धशतक बनाए लगत्तैको अर्को ओभरमा कोल्सावाला रवि बोपाराको बलमा शरद भेषवाकरद्वारा समातिए।

विलियम बोसिस्टोले ३९ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५२ रन जोडे। एनपिएलको आफ्नो दोस्रो अर्धशतक बोसिस्टोले ३७ बलमा पूरा गरे।

अर्धशतक बनाए लगत्तै बोसिस्टो सोहेल तन्भिरको बलमा बोल्ड आउट भए। उनले यस अघि लिग चरणको खेलमा विराटनगर किंग्सविरुद्ध अर्धशतक बनाएका थिए।

चाल्डिक वाल्टन २२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४६ रन जोड्दै नट आउट रहे। देव खनाल ३ बलमा ३ रन जोड्दै रन आउट भए।
दोस्रो ओभरको पहिलो बल सामना गर्ने क्रममा रित गौतम आउट भएका हुन्।

इनिङको पहिलो बल सामना गर्ने क्रममा रित सोहेल तन्भिरको बलमा विकेटकिपर विपिन रावलबाट समातिए। जिशान मक्शुदले १२ बलमा १ चौका र १ छक्काको सहयोगमा १४ रन जोडे। मक्शुद शरद भेषवाकरको बलमा रञ्जित कुमारबाट क्याच भए।

शरदको प्रतियोगितामा यो पहिलो विकेट हो।

चौधौं ओभरको चौथो बलमा गुलशन झा रनको खाता नखोल्दै कप्तान कुशल मल्लको बलमा बोल्ड आउट भए। चितवनका लागि सोहेल तन्भिरले २ तथा रवि बोपारा, शरद भेषवाकर र कुशल मल्लले समान १ विकेट लिए।

लिग चरणको खेलमा कर्णालीले चितवनलाई ६ विकेटले पराजित गरेको थियो। यो खेलको विजयी टोलीले फाइनल प्रवेशका लागि आजै हुने पहिलो क्वालिफायरको पराजित हुने टोलीसँग बिहीवार खेल्नेछ।