प्रहरीकै अगाडि रविको फोटो सिसिटीभीमा खिचेको हुँ, गल्ती भयो : डा. निकोलस भुसाल

काठमाडौँ —  कास्की प्रहरीको हिरासतमा सुतिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तस्बिर आफूले प्रहरीकै सिसिटीभीमा खिचेको डा. निकोलस भुसालले बताएका छन्।

गत शनिबार भेट्न जाँदा लामिछाने सुतिरहेको प्रहरीकै सिसिटिभीमा देखेपछि आफूले फोटो खिचेको भुसालले बताए।

Laxmi sunrise bank 2034

‘मैले प्रहरीकै अगाडि रवि लामिछाने सुतिरहेको फोटो सिसिटिभीमा खिचेको हुँ। त्यतिबेला प्रहरीले केही भनेन,’ उनले सेतोपाटीसँग भने, ‘यस्तो होला भनेर थाहा पनि भएन, गल्ती भयो।’

उक्त तस्बिर आफूले फेसबुकमा पोष्ट गरेपछि रास्वपाको कार्यकर्ताले भाइरल बनाएको भुसालको भनाइ छ। आफू राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य नभएको उनले बताए।

उक्त तस्बिर खिच्ने व्यक्ति खोजिरहेको प्रहरीले बताएको छ।

कास्की प्रहरीका डिएसपी बसन्त शर्माले यस विषयमा अनुसन्धान भइरहेको र फोटो खिच्ने व्यक्ति खोजिरहेको जानकारी दिए।

पछि लामिछानेलाई भेट्न जाँदा मोबाइल प्रहरीलाई बुझाएको पनि भुसालले बताए।  ‘रवि लामिछानेले मलाई तनाव छ भन्नुभयो, स्वास्थ्यमा समस्या छ भन्नुभएको थियो,’ उनले भने, ‘उहाँलाई भेट्न जाँदा मैले मोबाइल प्रहरीलाई नै बुझाएको थिए।’

Shivam Cement

कास्की प्रहरीले कार्यालयमा आउने सेवाग्राहीलाई मोबाइलसमेत भित्र लैजान दिएको छैन।

लामिछाने पक्राउ परेदेखि कास्की प्रहरी प्रमुख श्यामबाबु ओलिया, सूचना अधिकारीसमेत रहेका डिएसपी बसन्त शर्मा लगायतले कार्यालयमा अरू प्रयोजनमा जाने सेवाग्राहीलाई पनि मोबाइल लैजान प्रहरीले रोक लगाएका छन्।

भुसालले भने प्रहरी गेटभित्र सिसिटीभी देखेको र त्यसमा रवि लामिछाने सुतेको देखिएपछि फोटो खिचेको बताएका छन्। सहकारी ठगी, संगठित अपरा र सम्पत्ति शुद्धीकरण कसुरमा गत कात्तिक २ गते प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो। उनीविरूद्ध प्रहरीले अनुसन्धान सकिसकेको छ भने एक-दुई दिनभित्रै जिल्ला अदालत कास्कीमा मुद्दा पेस हुनेछ।