काठमाडौँ — नेपाल सरकार मन्त्रिपरिषद् बैठकले सम्पत्ति शुद्धीकरण निवारण ऐन बमोजिम मानव तस्करी, हुण्डी, भर्चुअल मुद्रा प्रयोग, अनुचित लेनदेन, खेलमा मिलेमतो तथा अनियमितता र अनुमतिपत्र नलिई क्यासिनो संचालनलाई सम्बद्ध कसूर तोक्ने निर्णय गरेको छ।
बिहीबार पुस ९ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका हुन् ।
उनले भने, ‘पुस ९ बसेको मन्त्रिपरिषद् बैठकले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को अनुसूचीको क्रमसंख्या ३ बमोजिम मानव तस्करी, हुण्डी, भर्चुअल मुद्रा प्रयोग, अनुचित लेनदेन, खेलमा मिलेमतो तथा अनियमितता र अनुमतिपत्र नलिई क्यासिनो सञ्चालनलाई संम्बद्ध कसूर तोक्ने निर्णय भएको छ।’
मन्त्रिपरिषद् बैठकले गरेका अन्य निर्णय निम्नानूसार छन् :
- नेपाल बीमा प्राधिकरणका अध्यक्ष नियुक्त गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगका सम्बन्धित क्षेत्र हेने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र श्री ज्योतिचन्द्र ओझा रहेको सिफारिस समिति गठन गर्ने,
- पूर्व विशिष्ट पदाधिकारीको सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने,
- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गतका निकायको स्वीकृत दरबन्दीबाटै जनशक्ति व्यवस्थापन गर्ने गरी पर्सा जिल्लाको पोखरिया, जुम्ला जिल्लाको सिंजा, नराकोट र कपिलबस्तु जिल्लाको बोडगाँउमा मालपोत तथा नापी कार्यालय स्थापना गरी सेवा संचालन गर्न स्वीकृति प्रदान गर्ने,
- सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने,
- सवारी तथा यातायात व्यवस्था (दशौ सशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने,
- रेल सञ्चालन र मर्मत सम्भारको लागि तालिम प्राप्त जनशक्ति, मर्मत सम्भारको कार्य र सोको लागि आवश्यक उपकरण एवं मालसामान सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम सरकार तथा सरकार विधिवाट खरिद गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने,
- राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा श्री शान्तीकुमारी चौधरी (झापा), श्री आनन्दकुमार झा (सप्तरी), श्री सुवर्ण श्रेष्ठ (ललितपुर), कमलबहादुर भट्टराई (सर्लाही), हिमालकुमार श्रेष्ठ (गुल्मी), नन्दा बस्याल (सुर्खेत), जगतसिंह धामी (दार्चुला) र भानबहादुर चन्द (कञ्चनपुर) लाई नियुक्त गर्ने,
- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा रहेको नेपाल सरकारको नाममा दर्ता श्रेस्ता कायम रहेको कावासोती नगरपालिका वडा नं.३ को कि.नं. १२ कि.नं. २ को सरकारी जग्गामा रहेका विभिन्न प्रजातिका ६४२ गोटा रुख÷पोल हटाउन स्वीकृति दिने,
- शिक्षक सेवा आयोगको एकजना महिलासहित दुईजना सदस्यहरूको नियुक्तिको लागि सिफारिस गर्न लोकसेवा आयोगको अध्यक्षको अध्यक्षतामा त्रिभुवन विश्वविद्यालयको उपकुलपति र मन्त्रालयका सचिव सदस्य रहेका सिफारिस समिति गठन गर्ने,
- साविक जिल्ला विकास समितिमा स्थायी नियुक्ति भई कर्मचारी समायोजन ऐन २०७५ बमोजिक गाँउपालिका तथा नगरपालिकामा समायोजन भएका र अन्य सेवाबाट गाँउपालिका तथा नगरपालिकामा समायोजन भई अवकाश भईसकेका र अवकाश हुने कर्मचारीहरूको सञ्चित विदा, औषधि उपचार र उपदानको रकम कर्मचारी कल्याण कोष र अन्य यस्तै प्रकृतिका कोषबाट भुक्तानी गर्ने र उक्त कोषमा रकम नभएमा वा भएको रकम नपुग भएमा त्यसरी नपुग भएको रकम अर्को कानूनी व्यवस्था नभएसम्म नेपाल सरकारले उपलब्ध गराउने
- नेपाल इञ्जिनियरिङ सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा सहसचिव (प्रा.) श्री मधुप्रसाद भेटुवाललाई बढुवा गरी जल तथा ऊर्जा आयोगको सचिवालयको सचिव पदमा पदस्थापन गर्ने।