शेरा दरबार प्रकरणमा प्रचण्ड: दोषीलाई कारबाही हाेस्, सरकारलाई सहयोग गर्न तयार छु

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको शेरा  दरबार प्रकरणमा संलग्न भए जोसुकैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएका प्रचण्डले प्रधानमन्त्री हुँदा आफूले आफ्नै पार्टीका नेता संलग्न देखिए पनि कारबाही गर्ने प्रतिबद्धता गरेको स्मरण गराउँदै कानुनविपरीत काम भएको पाइए जोकोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने प्रस्ट्याए।

Laxmi sunrise bank 2034

‘मैले प्रधानमन्त्री हुँदै गर्दा विभिन्न भ्रष्टाचारसँग सम्बन्धित फाइलहरूबारे छलफल गर्दै गर्दा जोकोही पनि कानुन मिचेर या कुनै तरिकाले भ्रष्टाचारमा संलग्न देखिन्छ भने कसैलाई पनि छुट दिन हुँदैन, आफ्नै पार्टीका नेताहरू पनि दोषी देखिन्छन् भने छानबिनको दायरामा आउनुपर्छ, राज्यको सरकारको जमिन कुनै व्यक्तिले गैरकानुनी रूपले व्यक्तिको नाममा गर्छ भने जोकोही होस् त्यसलाई कानुनको दायरामा ल्याउनुपर्छ भनेको थिएँ,’ उनले भने, ‘मैले त्यति वेला यदि छानबिन गर्दै जाँदा प्रचण्ड नै देखापर्‍याे भने पनि त्यसलाई पनि छानबिनको दायरामा ल्याउनुपर्छ भनेर बोल्ने प्रधानमन्त्री सायद म नै थिएँ। अहिले यही शेरा दरबारको कुरा पनि चर्चा सुनेपछि मैले अस्ति झापाको एउटा कार्यक्रममा बोलेको पनि थिएँ– दोषीलाई कारबाही गरियोस्, सरकारलाई सहयोग गर्न तयार छु।’

Shivam Cement

शेरा दरबार प्रकरणमा सरकारलाई सहयोग गर्न तयार रहेको उल्लेख गर्दै प्रचण्डले थपे, ‘कानुनविपरीत काम भएको छ भने, जसरी ललितानिवासको कैयौँ रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याइयो, त्यसैगरी शेरा दरबारको पनि भयो भने म सरकारलाई सहयोग मात्रै होइन धन्यवाद पनि भन्नेछु।’