विपिनको रिहाइबारे परराष्ट्र मन्त्री र इजिप्टका विदेश मन्त्रीबीच कुराकानी

काठमाडौँ  — हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजिप्टका विदेश मन्त्री बदर अब्देल–अतिसँग कुराकानी गरेकी छन्।

इसराइल सरकार र हमासबीच शान्तिवार्ता र युद्धविराम भएपछि बन्दीहरूलाई हमासले आइतबारबाट मुक्त गर्ने प्रक्रियाको थालनी गरेको छ।

परराष्ट्रमन्त्री राणाले पहिलो चरणमा नै विपिनको रिहाइका लागि पहल गरिदिन विदेशमन्त्री अब्देल अतिमार्फत् इजिप्ट सरकारसँग सोमबार आग्रह गरेकी हुन्।

स्वास्थ्य उपचारका लागि बैंककमा रहेकी मन्त्री राणाले त्यहीँबाट इजिप्टका मन्त्रीसँग फोनवार्ता गरेको उनको सचिवालयले जनाएको छ।

फोनवार्ताका क्रममा मन्त्री राणाले इसराइल सरकार र हमासबीचको युद्धविरामका लागि इजिप्टले निर्वाह गरेको भूमिकाका लागि इजिप्ट सरकारलाई धन्यवाद दिएकी थिइन्।

इजिप्टका विदेश मन्त्री अब्देल अतिले विपिनको रिहाइका लागि आफूले इजिप्टका मध्यस्थकर्तालाई विशेष निर्देशन दिने बताएको मन्त्री राणाको सचिवालयको भनाइ छ।

Laxmi sunrise bank 2034

इसराइल सरकार र हमासबीच युद्धविरामको कुराकानी भएदेखि नै मन्त्री राणाले हमाससँगको शान्तिवार्ताका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग विपिन रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी थिइन्।

केही दिनमात्र अघि मन्त्री राणाले कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग पनि फोनवार्ता गरी सोही आग्रह गरेकी थिइन्। खुलाइफी शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन्।

त्यसैगरी मन्त्री राणाले इजरायलका विदेशमन्त्री गिडियन सारसँग फोनवार्ता गरी हमासले अपहरण मुक्त गर्न लागेका भनिएका व्यक्तिहरूको पहिलो चरणमा नै विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी थिइन्।

विपिनको रिहाइका लागि नेपाल सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास गरेको थियो। मन्त्री राणाले संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्च र बैठकमार्फत विपिनको रिहाइका लागि आग्रह गर्दै आएकी छन्।