युवाको चौतर्फी विकासमा सरकारले सहयोग गर्छ : प्रधानमन्त्री

काठमाडौं— प्रधानमन्त्री केपी ओलीले युवा जगतको चौतर्फी विकासका लागि सरकार हरसम्भव सहयोग गर्न कट्टिबद्ध रहने बताएका छन्।

सैनिक मञ्च टुँडिखेलमा आयोजित राष्ट्रिय सेवा दल (एनसिसी)को सिसं. १९ सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी’ उक्तिलाई आत्मसाथ गर्दै चन्द्र र सूर्य अंकित झण्डाप्रति सदैव अनुशासित भई शीरोपर गर्न सक्ने युवाहरुको खाँचो राष्ट्रलाई रहने भएकाले यो कार्यक्रम नेपाल सरकारको उच्च प्राथमिकतामा परेको बताए।

‘तपाईंहरूमाथि तपाईंको अभिभावकको मात्र आशा र सपना निहित नरही तपाईहरूका प्राध्यापक, नातेदार र समाजको पनि सपना र आशा रहेको हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसैले सर्वाेत्कृष्ट समाज निर्माणका लागि यसै युवा अवस्थामा तपाईहरुले आफ्नो मनोबल उच्च बनाउनको साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै तपाईहरुको आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र त्यसलाई पूूरा गर्न सवल नागरिक बन्ने कार्य पनि शुरु गर्नु पर्दछ।’

देशभक्ति, कर्तव्यपरायणता र श्रेष्ठताका लागि दीक्षित छात्रा÷छात्रालाई शुुभकामना दिँदै अरुलाई छिर्के लगाएर नभई स्वच्छ प्रतिस्पर्धाका आधारमा मुलुकको विकासमा समर्पित हुन र अघि बढ्न उनले आग्रह गरे।

कार्यक्रममा प्रथम महिला राधिका शाक्य, रक्षामन्त्री मानवीर राई, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, प्रधानसेनापति अशोकराज सिग्देल, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोल, सुरक्षा निकायका प्रमुखहरुलगायत उपस्थित थिए।