गलकोट, चैत १५ गते । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाले स्वास्थ्य बीमा रकम भुक्तानी नगर्दा स्थानीय बासिन्दा स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् ।
गाउँपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले एक हजार आठ सय ३८ जनाको फागुन महिनादेखि लागू हुने गरी स्वास्थ्य बीमा गरे पनि गाउँपालिकाले समयमै भुक्तानी नगर्दा समस्या भएको हो । निसीखोला–१ किटेनीका वीरबहादुर विक गत फागुन २५ गते जाँचका लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र पुग्नुभयो ।
गाउँपालिकाले फागुनदेखि लागू हुन्छ भनेर दिएको स्वास्थ्य बीमा परिचयपत्र साथमै बोकेर गएका विकलाई स्वास्थ्य केन्द्रले बीमा योजना लागू नभएको भन्दै पूर्ण शुल्क तिरेमात्र उपचार हुने बतायो । उहाँले उपचारका क्रममा लागेको सम्पूर्ण रकम तिरेर घर फर्कनुभयो ।
विक मात्र होइन, यतिबेला निसीखोलाले फागुनदेखि लागू हुने गरी बीमा गरेका स्थानीय सुविधाबाट बञ्चित छन् । गाउँपालिकाले बीमा गरिदिए पनि रकम समयमै भुक्तानी नगरेका कारण उनीहरु सेवाबाट बञ्चित भएका हुन् । गत असारमा सम्पन्न दशौँ गाउँसभाले गाउँपालिकाका सम्पूर्ण नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको थियो । सोहीअनुसार गाउँपालिकाले पाँच हजार चार सय परिवारका लागि राजस्व बाँडफाँटबाट रु दुई करोड विनियोजन गरेको थियो ।
पहिलो चरणमा नौ हजार एक सय ८५ जनाको स्वास्थ्य बीमा गर्ने गरी विवरण सङ्कलन गरिएको थियो । गाउँपालिकाले हालसम्म पहिलो चरणको रु ६४ लाख बीमा रकम भुक्तानी गर्न नसक्दा बीमा गरेका नागरिक पनि सुविधाबाट बञ्चित भएका हुन् । सङ्घ, प्रदेश र पालिकाको आन्तरिक स्रोतको राजस्व बाँडफाँटबाट नागरिकको बीमा गर्ने निर्णय गरे पनि सङ्घ र प्रदेशबाट समयमै बजेट नआउँदा रकम भुक्तानी गर्न नसकिएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताउनुभयो । गाउँपालिकाले असोज, कात्तिक र मङ्सिरमा रकम भुक्तानी गरेको भए फागुन १ गतेदेखि नागरिकले बीमाको सेवा लिन पाउने थिए ।
सङ्घीय सरकारबाट केही दिन अघि रु ५५ लाख प्राप्त भएको र चाँडै रु एक करोड भुक्तानी गर्ने तयारीमा रहेको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत दिलीपकुमार चन्दले बताउनुभयो ।