निजी जग्गामा गाउँपालिकाले बनायो सरकारी भवन

महोत्तरी, जेठ १ गते । जिल्लाको सोनमा गाउँपालिकाले व्यक्तिको निजी जग्गामा लाखौँको लगानी गरेर सरकारी भवन निर्माण गरेको रहस्य फेला परेको छ ।

गाउँपालिकाको कार्यालयले वडा नं ६ मगरथाना गाउँमा तीन व्यक्तिको नाउँमा दर्ता कायम रहेको एक जग्गामा पालिकाको रु १४ लाखको लगानीमा सरकारी भवन निर्माण गरेको भेटिएको छ ।

साविक सुन्दरपुर गाविस–३ बस्ने उसमान नदाफ, वारिस नदाफ र इसलाम नदाफको नाउँमा मालपोत कार्यालयबाट जारी भएको जग्गाधनी दर्ता प्रमाणपूर्जामा सुन्दरपुर–३ ख कित्ता नम्बर ३८६ को क्षेत्रफल ०–०–४१÷२ र कित्ता नं ३८७ को क्षेत्रफल ०–०–१÷२ दुवै गरी जम्मा पाँच धुर जग्गा कायम रहेको जग्गामा गाउँपालिकाले रु १३ लाख ९७ हजार तीन सय ३० को लागतमा मदर्सा भवन निर्माण गरेको कार्यस्थलमा जडान गरेको होर्डिङबोर्डमा उल्लेख छ ।

गापाको आर्थिक वर्ष २०७९÷८० को योजनामार्फत सोनमा–६ मगरथाना गाउँको वारिस नदाफको घर नजिकै ‘मदिना मदर्साको भवन निर्माण’ योजना २०७९ मङ्सिर २० गते सञ्चालन गरेर २०८० वैशाख ३० गते सम्पन्न गरेको छ ।

गापाले जग्गाधनीमध्ये वारेस नदाफलाई नै उपभोक्ता समितिको अध्यक्ष बनाएर सात सदस्यीय समितिमार्फत सो योजना सम्पन्न गरेको तथ्य फेला परेको हो । वडा नं १ का वडाध्यक्ष अशोककुमार यादवले गापा अध्यक्ष विशेश्वर यादवले आर्थिक अनियमितता गर्ने उद्देश्यले व्यक्तिगत जग्गामा सरकारी पैसा लगानी गरेर मदर्सा भवन निर्माण गरेको आरोप लगाउनुभयो ।

गापा उपाध्यक्ष जहिदा खातुनले आफूलाई सुरुमा सो योजना व्यक्तिगत जग्गामा सञ्चालन भएको जानकारी नै नभएको र पछि आफूलाई अनुगमन गर्न उपभोक्ता समितिका अध्यक्षलगायतले भन्न आउँदा मात्रै आफूले व्यक्तिगत जग्गामा सरकारी लगानी गरिएको थाहा पाएपछि आफूले अनुगमनसमेत नगरेको बताउनुभयो ।