
काठमाडौं, पुस १० गते । नेवार समुदायले ज्यापु दिवस तथा योमरी पूणिर्मा (यःमरी पुन्ही) मनाएका छन् । मंगलबार बसन्तपुर क्षेत्रमा नेवार समुदायले यःमरीसहित नगर परिक्रमा गरेका छन् ।
उहाँहरु परम्परागत भेषभूषामा सजिनुभएको थियो । ज्यापु संस्कृति विकास कोषले हरेक वर्ष ज्यापु दिवसमा यस्तै कार्यक्रम गर्दै आएको छ ।
यःमरी पुन्हीका दिन गृहणीहरुले चामलको पिठो मुछेर रोटीको माथिल्लो भाग गजुरजस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा चाकु, तिल, मास, गुदपाक, खुवा आदि राखी क्रिकोण आकारमा बनाई पानीको बाफमा पकाउने गर्दछन् ।
आजको दिन धान, गणेश, कूलदेवता, गोठदेवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी योमरी, सेल, बाबर, पुरी मालपुवा आदि परिकार बनाएर चढाउने परम्परा छ ।