मन्त्री ज्वालाको गाडीमा आगजनी

काठमाडौं, पुस १३ गते । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगो लगाइदिएका छन् ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई दिएर युवाहरूले बालकुमारीमा प्रदर्शन गरेका थिए । त्यसक्रममा उनीहरुले मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।

उक्त गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेका थिए । मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो झोसेका स्रोतले जनाएको छ ।

ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले भने, ‘गाडीमा आगो लगाएको खबर आएको छ, प्रहरी टोली पनि त्यहाँ पुगेको छ ।’

प्रदर्शनकारीले सडक पनि अबरुद्ध पारेका छन् । अहिले बालकुमारी क्षेत्र तनावग्रस्त छ ।