पार्टीको भवन बनाउन अध्यक्षले पुट्याए १४ लाख, जनप्रतिनिधिले लगाए कार्यालयमा तला

पोखरा, माघ ५ गते । बागलुङको तमानखोला गाउँपालिकाले नेपाली कांग्रेसको जिल्ला कार्यालय भवन बनाउनको लागि बजेट विनियोजन गरेको भन्दै जनप्रतिनिधिहरुले कार्यालयमा ताला लगाएका छन् ।

बागलुङ नगरपालिकामा रहेको नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय भवन बनाउन पालिकाको हिउँदे अधिवेशनले १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको स्रोतले बताएको छ ।

पालिकाले अर्को पालिकामा अमूक पार्टीको पार्टी कार्यालय बनाउन बजेट विनियोजन गरेपछि नेकपा माओवादीका जनप्रतिनिधिले विरोध जनाएका हुन् । बजेट विनियोजन निर्णय फिर्ता गर्न विरोध जनाउँदै उनीहरुले बिहीबार तमानखोला गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

तमानखोला गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष छप्रसाद श्रिपालीले हिउँदे सभामा आफूहरुले असहमति राख्दाराख्दै पेलेर निर्णय गरेकाले आफूहरुले बाध्य भएर पालिकामा तालाबन्दी गर्नुपरेको बताउनुभयो ।

‘पुस २९ गतेदेखि सभा सुरु भएको थियो । त्यो दिन पनि हामीले विरोध जनायौं । तर, माघ ४ गते उहाँहरुले हामीलाई बाहिर निकालेरै निर्णय गर्नुभयो,’ उहाँले भन्नुभयो ।

आफूहरुले पार्टी कार्यालय बनाउने भए तमानखोलामै बनाउन आग्रह गर्दा पनि नमानेको दाबी गरे । ‘यहाँ बनाउनुस्, त्यो तमानखोलाकै सम्पत्ति हुन्छ । तर, यहाँको बजेट अर्को पालिकामा पठाउने न्यायोजित हुँदैन भनेर भनेका हौं’, उहाँले भन्नुभयो,‘तर, उहाँहरु छलफल नै गर्न चाहनुभएन ।’

श्रीपालीले आफूहरुले ‘नोट अफ डिसेन्ट’ लेख्न पाउनुपर्ने मागसहित उभिएर विरोध जनाउँदा सभाबाटै बाहिर निकालिएको दाबी गर्नुभएको छ ।

‘बहुमतले निर्णय गर्ने भए गर्नुस् । तर, माइन्युटमा हामीलाई नोट अफ डिसेन्ट लेख्न दिनुस् भनेर विरोध जनाउँदा बैठकबाट बाहिर निकालियो । पेलेर निर्णय गरियो,’ उनले भने, । वडाध्यक्ष श्रिपालीले पालिकाले उक्त निर्णय फिर्ता नगर्दासम्म आफूहरुको विरोध जारी रहने बताउनुभयो ।

तमानखोलाको नगरसभामा पालिका अध्यक्ष, उपाध्यक्षसहित नेपाली कांग्रेसको बहुमत छ । नेपाली कांग्रेसका २३ जना सभा सदस्य छन् भने नेकपा माओवादीका ११ जना सभा सदस्य छन् ।