काठमाडौं फागुन १ गते । रुविना क्षेत्री बेलबासेको ऐतिहासिक शतकमा नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सलाई २२८ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ । बाँगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२७ रन बनायो ।
नेपालकी रुविना क्षेत्री ५९ बलमा १० चौका र ५ छक्कासहित ११८ रनमा नट आउट रहिन् । त्यस्तै पूजा महतो ३६ बलमा ५ चौका र १ छक्कासहित ५९ रनमा नट आउट रहिन् ।
पाँचौं विकेटका लागि रुविना र पूजाले ८२ बलमा १६६ रनको अविजित साझेदारी गरेका थिए । नेपालबाट यो कुनै पनि विकेटका लागि भएको महिला टी२० आईको उच्च साझेदारी हो ।
रुविना नेपालबाट महिला कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेटमा शतक हान्ने पहिलो खेलाडी समेत बनेकी छिन् । नेपालले महिला टी–२० आईमा बनाएको यो हालसम्मकै उच्च योगफल हो ।
यसअघि २०२१ नोभेम्बरमा तेस्रो महिला टी–२० आई खेलमा कतारविरुद्ध नेपालले १६४ रन बनाएको थियो । नेपालकी ओपनर कविता कुँवर १३, सीतारानामगर १५, इन्दु बर्मा डक र डली भट्ट ६ रनमा आउट भइन् ।
माल्दिभ्सकी शम्मा अलीले ४ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिइन् । नब्बा बिन्थु नसिमले १ विकेट लिइन् ।