१२ सय २० विद्यार्थी बंगलादेशबाट फर्किए

श्रावण ७ काठमाण्डाै । बंगलादेशमा सरकारी आरक्षण कोटाको विरोधमा भएको आन्दोलन थप हिंसात्मक बन्दै गएपछि त्यहाँ अध्ययनरत १२ सयभन्दा बढी विद्यार्थी स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार बंगलादेशमा रहेका तीन हजार नेपाली विद्यार्थी मध्ये शनिबारसम्म आठ सय र आइतबार चार सय २० गरी १२ सय २० जना स्वदेश फर्किएका छन् । आइतबार विमान बंगलादेश र हिमालय एयरलाइन्समार्फत एक सय २० र काँकडभिट्टा हुँदै तीन सय पाँचजना फर्किएका हुन् ।

परराष्ट्रका अनुसार एक हजार सात सय विद्यार्थी दूतावासको सम्पर्कमा छन्  र अन्य केही विद्यार्थी सम्पर्कमा आउने क्रम जारी रहेको मन्त्रालयले जनाएको छ । यसबाहेक अन्य रोजगारको सिलसिलामा त्यहाँ पुगेका व्यक्तिहरूको तथ्यांक भने परराष्ट्रसँग छैन । आन्दोलन हिंसात्मक बन्दै जाँदा प्रशासनले जारी गरेको कफ्र्युपछि त्यहाँ रहेका नेपाली विद्यार्थीसमेत प्रभावित बनेका छन् । नेपाल फर्कन चाहनेलाई सम्पर्कमा आउन दूतावासले आग्रह गरेको छ ।

फर्कनेमध्ये अधिकांश विद्यार्थी मेडिकल र कृषि शिक्षाका छन् । परराष्ट्र मन्त्रालयका अनुसार कोही हवाई र कोही स्थलमार्गबाट स्वदेश फर्किरहेका छन् । नेपाल फर्कन चाहने विद्यार्थीका लागि परराष्ट्रले सीमावर्ती क्षेत्रबाट गाडीको प्रबन्ध मिलाएको जनाएको छ । होस्टेलमा रहेका विद्यार्थीसँग दूतावासमार्फत मन्त्रालयले सम्पर्क गरिरहेको छ ।