पोखराका लागि उडेको सौर्यको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना

९ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) जहाज उड्ने क्रममा बुधबार बिहान करिब ११ बजे जहाज दुर्घटना भएको छ ।

जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको विमानस्थलले जनाएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।

पोखराका लागि उडेको यो जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको पाइएको छ । दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा १९ जना यात्रु रहेको नेपाल उड्डयन प्राधिकरणले जनाएको छ। अहिले उद्दारको काम चलिरहेको छ ।

जहाज दुर्घटनामा परेको स्थानबाट क्याप्टेनको उद्धार गरिएको छ । उद्धार गरिएका क्याप्टेन ३७ वर्षीय मनिष शाक्य रहेका छन् । उनलाई सिनामंगलको केएमसी अस्पतालमा उपचारका लागि पठाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता तथा एसएसपी दिनेशराज मैनालीले जानकारी दिए । थप विवरण आउन बाँकी रहेको छ ।