सिरहा — सिरहाको लहान नगरपालिकाका नगर प्रमुखसहित जम्बो टोली नै विदेश भ्रमणमा गएको छ । नगर प्रमुख महेशप्रसाद चौधरीसहितको जम्बो टोली गत १० गते तीन देशको भ्रमणमा निस्केको हो ।
बर्खा, डुबान र खेतीपातीको समयमा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको जम्बो टोली नै विदेश भ्रमणमा गएपछि नगरपालिकाको कामकाज प्रभावित बनेको छ । जनप्रतिनिधि नभएपछि अधिकांश कामकाज प्रभावित बनेको र कर्मचारीले सेवाग्राहीलाई विभिन्न बहानामा दुःख दिन सुरु गरेको सेवाग्रहीले गुनासो गरेका छन् ।
उनीहरुको विदेश भ्रमणको आर्थिक श्रोत भने अपारदर्शी छ । लहानमा भने पूर्वपश्चिम राजमार्ग विस्तारको काम गरिरहेको चाइना रेल्वे नम्बर २ इन्जियरिङ ग्रुप र गैरसरकारी संस्था वाटर एडको आर्थिक सहयोगमा उनीहरु विदेश गएको चर्चा छ । तर, वाटर एडले भने आफ्नो खर्चमा उनीहरु भ्रमणमा गएको कुरा अस्वीकार गरेको छ ।
भ्रमण टोलीमा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी गरी १६ जनाबढी सहभागी छन् । टोलीमा मेयर चौधरीसँगै प्रमुख प्रशासकीय अधिकृत जयकान्त झा, लहान नगरपालिका-१२ वडाध्यक्ष बद्रीनारायण चौधरी, लहान नगरपालिका-७ का वडाध्यक्ष रामऔतार शर्मा, यसैगरी लहान नगरपालिका-२० का वडाध्यक्ष गणेश चौधरी, लहान नगरपालिका-१९ का वडाध्यक्ष कम्रुद्धिन मियाँ, लहान नगरपालिका-११ का वडाध्यक्ष सूर्यनारायण चौधरी, लहान नगरपालिका-१ का वडाध्यक्ष चुगलकिशोर चौधरी, लहान नगरपालिका-१५ का वडाध्यक्ष तेजनारायण चौधरी, लहान-३ का वडाध्यक्ष रामदयाल महतो, लहान-५ का वडाध्यक्ष अब्दुल करिम, लहान-९ का वडाध्यक्ष घुरण चौधरी, लहान-२२ का वडाध्यक्ष श्याम अधिकारी, लहान-२४ का वडाध्यक्ष रासलाल राय, लहान-१० का वडाध्यक्ष मन्टी मण्डल पनि भ्रमण टोलीमा छन् ।
उनीहरु अहिले थाइल्यान्डमा छन् । त्यहाँबाट उनीहरु मलेसिया र सिंगापुर घुम्न जाने कार्यक्रम छ । उनीहरु कहिले फर्किने भन्ने जानकारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शत्रुधन चौधरीलाई पनि छैन ।