कक्षाकोठामै लेदोसहितको बाढी पस्यो, तीन दिनदेखि विद्यालय बन्द

प्युठानको एउटा विद्यालयमा लेदोसहितको बाढी कक्षाकोठामै पसेपछि तीन दिनदेखि पठनपाठन रोकिएको छ ।

प्युठान नगरपालिका–१० बुढादेवीमा रहेको सिर्जनशील तारा आवासीय विद्यालयमा लेदोसहितको बाढी पसेको हो । लेदो पसेको विद्यालयमा पाँच कक्षासम्म पढाइ हुन्छ भने त्यहाँ ६०/७० जना विद्यार्थी र ७ जना शिक्षक रहेको वडाध्यक्ष केसीले बताए ।

वडाध्यक्ष लोकबहादुर केसीका अनुसार बुधबार बिहान विद्यालयमा लेदोसहितको बाढी पसेको र अहिले दुइवटा डोजर लगाएर लेदो फाल्न लागिएको हो । साथै वरपर रहेको घर र वस्तीहरू जोगाउनका लागि तारजाली लगाउने काम पनि भइरहेको उनले बताए ।

वडाध्यक्ष केसीका अनुसार विद्यालय नजिक भुस्वाङ र चुन्द्री खोला छन्। पहिले पहिले बाढी मात्रै आउने खोलामा अहिले लेदोसहितको बाढी आउँदा तटीय क्षेत्रमा रहेका धानखेतहरू समेत बगरमा परिणत भएका छन् भने वरपर रहेका घरहरू खतरामा छन् ।

वडाध्यक्ष केसीले बाढी पहिरोबाट सुरक्षित हुने स्थिति बनेपछि  विद्यालय खुल्ने बताए ।