आर्थिक अभाव र सहकारीबाट बचत रकम फिर्ता नपाएका कारण अस्पतालमा उपचाररत एक सहकारी पीडितको निधनपछि आन्दोलनरत सहकारी पीडितले नक्कली शव बोकेर सांकेतिक विरोध प्रदर्शन गरेका छन् ।
काठमाडौं महानगरपालिका–३१ शंखमुलका स्थायीवासिन्दा ७१ वर्षीय राजेन्द्र स्थापितको उपचार क्रममा रकम अभाव हुँदा निधन भएको थियो । घटना पछि सहकारी पीडितले नक्कली शव बनाएर शान्तिवाटिका हुँदै सहिदगेटबाट परिक्रमा गराएर विरोध गरेका हुन् ।
पारिवारिक स्रोतका अनुसार मस्तिष्कघात भएपछि उपचारका लागि वीर अस्पताल पुर्याइएका स्थापितको न्युरोडस्थित युवा विकास बहुउद्देश्यीय सहकारीमा १ करोड ३६ लाख रुपैयाँ बचत थियो । अस्पतालमा राख्नुपर्ने धरौटी रकम राख्न नसक्दा उपचारमा ढिलाइ भएर ज्यान गएको हो ।
स्थापित पछिल्लो एक वर्षभन्दा लामो समयदेखि सहकारीको बचत रकम फिर्ता गर्न माग गर्दै आन्दोलनमा थिए । आइतबार महासंघ नेतृत्वमा भएको उक्त प्रदर्शनमा राष्ट्रिय मुक्ति क्रान्तिका अभियन्ता केशव झा, मुक्ति क्रान्ति नेवाः राष्ट्रिय परिषद् संयोजक सुमन सायमी, उपत्यका विशेष ब्युरो संयोजक रविन्द्रकुमार श्रेष्ठसहित सयौंको उपस्थिति थियो । हातमा प्लेकार्ड लिएका प्रदर्शनकारीले कफन बाँधेर नक्कली लाशको बाकस बोकेका थिए ।