सहकारी ठगीको आरोपमा पक्राउ पुर्जी जारी भएपछि गाउँपालिका अध्यक्ष फरार

स्याङ्जाको सदरमुकामस्थित सूर्योदय बचत तथा ऋण सहकारी संस्थाको बिरुवा सेवा केन्द्रबाट भएको ३ करोड ६६ लाख रुपैयाँ हिनामिनामा संलग्नता देखिएपछि स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवर सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार सूर्योदय सहकारीको विरुवा सेवा केन्द्रबाट फर्जी कर्जा खाता बनाउने, बचतकर्ताको रकम पनि आफ्नो व्यक्तिगत स्वार्थमा लगाउने गरेको खुलेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।

मोवाइल मंगलबारदेखि अफ गरी सम्पर्कविहीन भएका कुँवरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख शालिग्राम शर्माले जानकारी दिए । पहिले शिक्षक रहेका उनी २०७३ सालदेखि नेकपा एमालेको राजनीतिमा संलग्न भइ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् ।

कुँवरले ०७६/७७ सालमा आफू सहकारीको सचिव हुँदा बचत रकम नेताहरुलाई आफूखुसी चलाउन दिएको र आफूले पनि चुनावमा खर्च गरेको छानबिनको क्रममा भेटिएको छ ।

२०७४ सालदेखि नै सूर्योदय सहकारीको रकम अपचलन हुन सुरु भएको छानबिनबाट देखिएको छ । प्रहरीले उनीसहित ४ जनालाई पक्राउ पुर्जी जारी गरेकोमा ३ जना थुनामा छन् भने कुँवर फरार छन् ।

सहकारीका विरुवा सेवा केन्द्रका प्रमुख जीवन वाग्लेलाई पक्राउ गरेर अनुसन्धान थालेपछि उनकै बयानका आधारमा अरु दुई जना पनि पक्राउ परेका हुन् । पक्राउ पर्ने अन्यमा सहकारीका बिरुवा सेवा केन्द्रका तत्कालीन सचिव तथा अहिलेका अध्यक्ष तारेन्द्रबहादुर केसी र मुक्तिनाथ विकास बैंक विरुवा शाखामा कार्यरत कर्मचारी सन्ध्या भण्डारी रहेका छन् ।