धुलिखेल नेपालको पहिलो ‘स्वस्थ सहर’ बन्यो

विश्व स्वास्थ्य सङ्गठनले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ सहर’ घोषणा गरेको छ । सङ्गठनले तोकेका मापदण्ड पूरा गरेको धुलिखेल एसियाको दोस्रो स्वस्थ सहर भएसँगै पाँच हजार डलर पुरस्कार प्राप्त गर्न पनि सफल भएको छ । सङ्गठनका प्रमुख डा सुभाजी गुडले मङ्गलबार नेपालको पहिलो स्वस्थ सहर र एसियाको दोस्रो स्वस्थ सहर भएको घोषणा गरेका हुन् ।

एसियामा पहिलो स्वस्थ सहर भारतको पुणे नगर र ६५ दशमलव ४८ अङ्क प्राप्त गरी धुलिखेल दोस्रो स्थानमा रहेको घोषणा भएको हो । सङ्गठनको मापदण्ड पूरा गरेर स्वास्थ्य क्षेत्रको नीतिगत सुधार, स्वास्थ्य क्षेत्रको दिगो विकास लक्ष्य, वातावरणीय सुधार, गरिब नागरिकको स्वास्थ्यमा पहुँच, दीर्घरोग र सरुवा रोग अनि सामुदायिक स्वास्थ्यमा सुधार ल्याउनुका साथै स्थानीय सरकारको प्राथमिक स्वास्थ्योपचारमा गरेको प्रगतिलाई आधार मानेर सो घोषणा गरिएको जनाइएको छ ।

पर्यटकीय धुलिखेल नगर हाल ‘आरोग्य सहर’ अभियानमै छ । धुलिखेलले सहस्राब्दी दिगो विकास लक्ष्य (एसडिजी)अन्तर्गतका १७ मध्ये शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी चार लक्ष्य पूरा गरेपछि स्वास्थ्यमा क्षेत्रमा फड्को मारेको हो । नगरले ती चार लक्ष्यको प्रतिवेदन गत अक्टोबर पहिलो साता थाइल्याण्डस्थित संयुक्त राष्ट्रसङ्घमा पेश गरेको थियो । त्यतिबेला उक्त ‘स्वेच्छिक समीक्षा प्रतिवेदन’ सार्वजनिक गर्नेमा दक्षिण एसियामै धुलिखेल पहिलो नगर भएको दाबी गरिएको थियो । नगरले हाल १२ वडामा १५ स्वास्थ्य केन्द्र स्थापना गरिसकेको छ भने सबै नागरिकलाई स्वस्थ बनाई आरोग्यता प्रदान गर्न स्वास्थ्यकर्मीलाई घरदैलो पुर्‍याउने कामसमेत सकेको जनाएको छ ।