झापाका स्थानीय तहले अहिलेसम्म बैंक खाता सञ्चालन गर्न सकेनन्

नयाँ आर्थिक वर्ष सुरुआत भएको डेढ महिना बितिसक्दा पनि झापाको स्थानीय तहले बैंक खाता सञ्चालन गर्न नसक्दा आर्थिक कारोबार गर्न नसकेका र विकास निर्माणलगायत काम ठप्प भएका छन् ।

गाउँसभा तथा नगरसभाबाट पारित भएको नीति कार्यक्रम तथा बजेट कोष तथा लेखा नियन्त्रक कार्यालयमा नबुझाउँदा आर्थिक गतिविधि प्रभावित भएका हुन् । नीति कार्यक्रम र बजेट गाउँ–नगरसभाबाट पारित भएको विवरण नआएकाले स्थानीय तहमा जाने रकम फुकुवा नभएको हो । गाउँसभा तथा नगरसभाबाट पारित भएको नीति कार्यक्रम तथा बजेट र गत आ.व.को हिसाब मिलान भएको विवरण आउने वित्तिक्कै स्थानीय तहमा जाने रकम फुकुवा हुन्छ ।

विभिन्न योजनाका गत वर्षका भुक्तानी रोकिएका कारण मृत्यु संस्कारमा दिने रकम दिन सकिएको छैन, शिक्षक कर्मचारीको तलब तथा यस वर्ष कार्यान्वयन गर्नुपर्ने योजनासमेत ढिला गरी सञ्चालन हुने निश्चित भइसकेको छ । यसैगरी विभिन्न स्थानीय तहका कर्मचारीले बर्खाको बेला सञ्चालन हुने बोटबिरुवा वितरण, वृक्षारोपणलगायत कार्यक्रम बैंक खाता सञ्चालन नहुँदा बजेट अभावले गर्न नसकिएको गुनासो गर्ने गरेका छन् ।