काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापन हुँने बञ्चरेडाँडामा रहेकाे सेनेटरी ल्यान्डफिल साइटको निगरानी काठमाडौं प्लाजाबाट सुरू भएको छ ।
काठमाडौं महानगरपालिकाले संस्थागत सुधारको कार्यक्रममध्ये कार्यसञ्चालन हुने ठाउँका विषयमा जानकारी तथा सूचना लिन सिसिटिभी क्यामरा जडान गराएको हो । साइटमा प्रवेश गर्ने सवारी साधन तथा व्यक्ति प्रवेशसहितका क्रियाकलापमा निगरानी गरेर सम्भावित अनधिकृत क्रियाकलाप रोक्न प्रणाली जडान भएको हो । क्यामराबाट प्राप्त दृश्य प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट निगरानी हुनेछ । यससँगै वातावरण व्यवस्थापन विभागमा पनि दृश्य हेर्न सकिने बनाइएको छ ।
‘स्वचालित प्रणाली बढाएर संस्थागत सुदृढीकरण गर्ने क्रममा ल्याण्डफिल साइटमा अत्याधुनिक सिसिटिभी क्यामरा जडान गरिएको छ,’ प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने ।
९ वटा क्यामराका दृश्यबाट साइट व्यवस्थापनको काममा खटिएका जनशक्ति, कार्यालय, साइटमा पुग्ने सडक, सुरक्षा बुथ देखिने गरी निगरानी हुनेछ । क्यामरा अटोमेटिक नम्बर प्लेट रिकोग्निजेसन (एएनपिआर) क्यामरा हुन् र भिडियोको आवाज पनि सुन्न सकिन्छ । सिस्टमले डिजिटल मात्र होइन, हातैले लेखेका नम्बर प्लेट पनि पढ्न सक्छ । नेपाली अक्षरबाट लेखिएको नम्बर प्लेट पनि पढ्न र रेकर्ड राख्न सक्छ ।