अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलारबत्ती जडानमा अनियमितता गरेको आरोपमा सप्तरीको तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गाउँपालिकाका तत्कालीन उपाध्यक्ष एवं योजना अनुगमन समिति संयोजक तीर्थमाया खत्वे, योजना अनुगमन समितिका सदस्यद्वय दुर्गानन्द यादव र वीरेन्द्रकुमार यादव, प्रमुख प्रशासकीय अधिकृत रामनारायण साह, इन्जिनियर उग्रानन्द पाठक, सवइन्जिनियर जागेश्वर मण्डल तथा उपभोक्ता समितिका अध्यक्ष रबेन्द्रकुमार यादव, सचिव धिरेन्द्र यादव र कोषाध्यक्ष रेणुकुमारी यादवविरुद्ध आइतबार ६ लाख ४५ हजार ६ सय ६५ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको हो । अख्तियारले कैद र ६ लाख ४५ हजार ६ सय ६५ रुपैयाँ जरिवाना असुलउपर हुनुपर्ने अभियोगपत्रमा मागदाबी गरिएको छ ।