दुई दशक अघिसम्म मानवबस्तीले भरिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-५ को ‘ध्ये गाउँ’ यतिबेला पानीको अभावले रित्तिएको छ । गाउँमा पानीका मुहान सुक्दै गएपछि मानिसहरू बस्ती छाड्न बाध्य भए ।
गाउँलेहरुले गाउँ छाडेपछि बस्ती मात्रै रित्तिएन स्थानीय परम्परा, संस्कृति र इतिहास पनि मेटिंदै गएको छ । मानिस बस्न छाडेपछि पुराना घरहरू भत्किदै गएका छन् र बस्ती खण्डहर र उराठलाग्दो देखिन थालेको छ भने सयौं हेक्टर खेतीयोग्य जमिन बाँझिएको छ । उक्त गाउँमा हाल मात्र २६ घरधुरीको बसोबास छ ।
ध्ये गाउँ साविक सुर्खाङ गाविसको वडा नम्बर ९ पर्दथ्यो तर अहिले ध्ये र थामजुङ एउटै वडामा पर्छन् । यहाँ गुरुङ र लोवा जातिका मानिसको बसोबास बाक्लो छ ।
पानीको अभाव बढ्दै गएपछि तत्कालीन गाविस र जिल्ला विकास समितिले बस्ती स्थानान्तरणको प्रक्रिया अघि बढाएका थिए । सरकारी र दातृ निकायको सहयोगमा नयाँ बस्तीमा पूर्वाधार निर्माण भएको वडाध्यक्ष गुरुङले बताए । नयाँ बस्तीमा उनीहरुले स्याउखेती गरिरहेका छन् । बस्तीसँगै विद्यालय पनि थामजुङमा सारिएको छ ।
विसं २०६४ देखि नै ध्येवासी बसाइ सरेर वेँसीमा रहेको थामजुङमा झर्ने क्रम सुरु भएको थियो । चराङ र सुर्खाङको नजिकै रहेको थामजुङमा खानेपानी, विद्युत्लगायत सुविधा छ ।