लामो समयदेखि मारवाडी सेवा समिति नेपालले सस्तोमा भाडामा लिएर एकलौटी सञ्चालन गर्दै आएको आरोप लागेको पशुपति क्षेत्रस्थित धर्मशालाको व्यवस्थापन पशुपति क्षेत्र विकास कोषले नै गर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेको अध्यक्षतामा पशुपति विकास कोष सञ्चालक परिषद्को आइतबार बसेको बैठकले यो निर्णय गरेको हो ।
आवश्यकता अनुसार अन्य सम्बन्धित निकायसँग पनि समन्वय गरी धर्मशालाको व्यस्थापन गर्न निर्देशन दिने निर्णय भएको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ ।
परिषद् सदस्य एवम् काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहको पनि उपस्थिति रहेको बैठकमा धर्मशाला ब्यवस्थापन गर्ने अधिकार कोषमै रहेको निष्कर्ष निकालिएको हो ।
अब आवश्यकता अनुसार अन्य निकायसँग पनि समन्वय गर्न सक्ने गरी बाटो खुला गरिएको हो ।
मारवाडी सेवा समितिले यसअघिको कररा बदर गरी पाऊँ भनि काठमाडौं जिल्ला अदालतमा पशुपति विकास कोषविरुद्ध मुद्दा हालेको थियो ।
अदालतले यही असोज १६ गते समितिको दाबी नपुग्ने ठहर गरेपछि परिषद्ले नयाँ निर्णय गरेको हो ।