नेपाल पहिलो पटक यू–१९ महिला विश्वकपमा

काठमाडौं —  नेपालले पहिलो पटक यू–१९ टि–२० महिला विश्वकपमा छनोट भएको छ।

युएईमा जारी एसिया छनोटको अन्तिम खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलो पटक यू–१९ महिला टि–२० विश्वकपमा छनोट भएको हो। यो जितसँगै नेपालले युएईलाई नै रनरेटमा पछि पार्‍यो।

४ टिम सहभागी डबल राउन्ड रोबिनका आधारमा भएको प्रतियोगितामा नेपालले ५ खेल जित्दै १० अंकसहित शीर्ष स्थानमा रह्यो। युएई पनि समान ५ जितसहित १० अंक नै जोड्दै रनरेटमा नेपालभन्दा पछि रह्यो। थाइल्यान्ड र कुवेत त्यसपछि रहे।

घरेलु टोली युएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा २ विकेटको क्षतिम भेट्टायो। विश्वकपमा पुग्न युएईले दिएको लक्ष्य नेपालले १६.२ ओभरमा भेट्टाउनु पर्ने थियो।

नेपालका लागि ओपनर सना प्रविनले नटआउट रन ३५ बनाइन् भने कप्तान पूजा महतोले १८ बलमा २१ रनको योगदान दिइन् । साबित्री धामीले १२ रन बनाइन् ।

त्यसअघि दुबईमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा ८३ रन बनाएको थियो। उसका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन् भने रिनिथा रन्जितले २० रनको योगदान दिइन्।

नेपालका लागि कृष्मा गुरुङले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिइन् भने रिया शर्मा र सीमा केसीले समान २ विकेट लिए।