यु-१९ महिला विश्वकपमा पुग्न सफल नेपाली टोलीलाई प्रधानमन्त्रीको बधाई

काठमाडौं —  प्रधानमन्त्री केपी शर्मा ओलीले यु-१९ महिला विश्वकप क्रिकेटमा पुग्न सफल नेपाली टोलीलाई बधाई दिएका छन्।

बुधबार साँझ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत नेपाली यु-१९ महिला टोलीलाई बधाई ज्ञापन गरेका हुन्। ‘महिला क्रिकेटमा नेपालले पहिलोपटक विश्वकपमा खेल्नेछ। बधाई छ टिम नेपाल,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्।

बुधबार संयुक्त अरब इमिरेट्स (युएई)लाई हराउँदै नेपाली टोली अर्को वर्ष मलेसियामा हुने यु-१९ विश्वकपमा छनोट भएको छ।

४ टिम सहभागी डबल राउन्ड रोबिनका आधारमा भएको प्रतियोगितामा नेपालले ५ खेल जित्दै १० अंकसहित शीर्ष स्थानमा रह्यो। युएई पनि समान ५ जितसहित १० अंक नै जोड्दै रनरेटमा नेपालभन्दा पछि रह्यो।

घरेलु टोली युएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा २ विकेटको क्षतिम भेट्टाएको थियो। विश्वकपमा पुग्न युएईले दिएको लक्ष्य नेपालले १६.२ ओभरमा भेट्टाउनु पर्ने थियो।