काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले उद्योगीहरुलाई १५ दिनभित्र बिजुलीको बक्यौता तिर्न भनेको छ । प्राधिकरणले आज सूचना जारी गर्दै मंसिर १२ गतेभित्र बक्यौता तिर्न भनेको हो ।
प्राधिकरणले मन्त्रिपरिषदको कात्तिक २५ गतेको बैठकबाट र नेपाल विद्युत् प्राधिरण सञ्चालक समितिको कात्तिक २७ गतेको ९८७ औं बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको स्मरण गराएको छ । सोही अनुरुप वितरण केन्द्रहरुबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्मको टीओडी मिटरमा रेकर्ड भएको डिमाण्ड तथा टी वान, टी टु र टी थ्री टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल अनुसार बक्यौता बुझाउन प्राधिकरणले भनेको छ ।