काठमाडौँ — नेपालले पहिलोपटक आज (शुक्रबार)देखि बंगलादेशमा बिजुली निर्यात गर्ने भएको छ।
गएको असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार शुक्रबार सरकारले ४० मेगावाट बिजुली बंगलादेशलाई बिक्री गर्ने भएको हो। सम्झौताअनुसार भारत हुँदै बिजुली बंगलादेशमा पठाउन लागिएको हो।
नेपालले हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म बङ्गलादेशलाई बिजुली बिक्री गर्ने सम्झौतामा छ। नेपालले हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म मात्रै बिजुली बेच्न पाउनेछ।
बङ्गलादेशलाई बिजुली बेच्दा कूल ५ महिनामा १ लाख ४४ हजार मेगावाट बिजुली निर्यात भई मुलुकलाई प्रतिमहिना करिब ३३ करोड रुपैयाँ आम्दानी हुने प्राधिकरणले जनाएको छ।
नेपालका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कासहित भारत र बङ्गलादेशका ऊर्जा मन्त्रीले दिउँसो पौने १ बजे संयुक्त रुपमा स्वीच थिचेर बिजुली निर्यातको उद्घाटन गर्ने छन्।