काठमाडौँ — काठमाडौंस्थित सिनामंगलको होटल जन्मभूमिमा मृत भेटिएका युवायुवती श्रीमान–श्रीमती रहेको खुलेको छ । मृत भेटिनेमा सुनसरी दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी श्रीमती २९ वर्षीया शर्मिला माझी रहेकाे जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ ।
होटलको चौथो तलाको बरण्डामा आइतबार बिहान उनीहरू झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनीहरूकाे साथबाट पासपोर्ट पनि फेला पारेको छ ।
प्रहरीका अनुसार उनीहरू दुबैजना हिजो मात्रै क्यानडाबाट नेपाल आएकाे खुलेको छ । क्यानडा गएकाे २ वर्षपछि हिजो शनिबार काठमाडौँ आएकाे उनीहरू होटलकाे चौथो तलाको १२० नम्बर कोठामा बसेका थिए ।
कपडाकाे पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकाले आत्महत्या गरको हुनसक्ने प्रहरीकाे आशंका छ । काठमाडौँ परिसरका अनुसार त्रिवि शिक्षण अस्पतालको फरेन्सिक टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।