औद्योगिक क्रान्तिबाट मुलुकले सफलता पाउँदैछ : मन्त्री भण्डारी

काठमाडौँ — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्यमशिलता र उद्योगले मुलुकको परिवर्तन अर्थात औद्योगिक क्रान्तिबाट मुलुकले सफलता प्राप्त गर्दै गएको बताएका छन् ।

दशौं राष्ट्रिय उद्योग दिवसको अवसरमा आयोजित मुल समारोहमा बोल्दै उनले  मुलुकलाई सफलतातिर डोर्याउनका लागि कयौं चुनौतिको सामना गर्नुपर्ने पनि बताए ।  ‘उद्यमशिलता र उद्योगले मुलुकको परिवर्तन अर्थात औद्योगिक  क्रान्तिबाट मुलुकले सफलता प्राप्त गर्दै गएको छ। अबको हाम्रो यात्रा भनेको समृद्धिको हो। यसमा सरकार र निजी क्षेत्रले गर्नुपर्ने कामहरुको जतिपनि तथ्यांकहरु छन् ती सबै  यथोचित छैनन्,’ उनले भने, ‘थुप्रै  नकारात्मक तस्वीरहरु हामीले देखेका छौं, सुनेका छौं ।

थुप्रै सम्भावनाहरु पनि मुखैमा छन्। त्यसैले मुलुकलाई सफलतातिर डोर्याउन र सम्भावनाहरुलाई अवसरमा बदल्नका लागि सबै चुनौतिहरुलाई  चिर्नुपर्ने अवस्था छ ।’

उनले निजी र  सरकारी क्षेत्रले हातेमालो गर्न सके विकासका यात्रामा मुलुक धेरै पछाडि नरहने बताए। उनले राज्यबाट थुप्रै निजी क्षेत्रले औंल्याएका प्रश्नहरुमा समूचित वातावरण बन्न नसकेको बताए।